काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा ३ महिनाभित्र अनिवार्य रुपमा नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ।
नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै तयार गरिएको मस्यौदा यो व्यवस्था थप गरी प्रस्ताव गरिएको हो। मस्यौदामा बैंक तथा वित्तीय संस्थाको सीईओ पद रिक्त भएको ३ महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिने प्रस्ताव गरिएको छ।
यसैगरी व्यवस्थापकीय पद भनी तोकिएको पदहरुसमेत रिक्त भएको ३ महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिने व्यवस्था प्रस्ताव गरिएको छ। हालको विनियमावलीमा सीईओ र व्यवस्थापकीय पद रिक्त रहेको अवस्थामा कति समयभित्र नियुक्त गरिसक्नुपर्ने व्यवस्था रहेको छैन।
विनियमावलीको संशोधित मस्यौदामा राष्ट्र बैंकले सरोकारवाला निकायहरुबाट रायसुझाव माग गरेको छ। रायसुझाव यही असार १५ गतेभित्र ई–मेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।












