काठमाडौं । साना तथा मझौला उद्यमलाई राहात पुग्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा साना तथा मझौला उद्यम क्यापिटल एड्युकेसी (पुँजी पर्याप्तता) सम्बन्धी व्यवस्थामा थप केही प्रावधान ल्याएको हो।
जसअनुसार अब ३ करोड रुपैयाँसम्मका साना तथा मझौला उद्यम (एसएमई) को कर्जालाई ६० प्रतिशतमात्र जोखिमभार निर्धारण गरिएको छ। राष्ट्र बैंकले यसका लागि केही सर्त भने अघि सारेको छ। यसका लागि त्यस्ता साना तथा मझौला उद्योग कृषि, आईटी अथवा उत्पादनमूलक क्षेत्रका हुनुपर्नेछ।
यसैगरी कर्जाको धितो निक्षेप तथा ऋण सुरक्षण कोषद्वारा ग्यारेन्टी गरिएको वा जग्गा तथा भवन पूर्ण रुपमा सम्पत्तिको उचित बजार मूल्यमा न्यूनतम २५ प्रतिशत मार्जिनका साथ सुरक्षित गरिएका साना तथा मझौला उद्यमले पनि यो सुविधा पाउनेछन्। अर्कोतर्फ यो सुविधा पाउन त्यस्ता परियोजना बीमा सुरक्षा कवचभित्र रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त अघि सारेको छ। यसअघिको निर्देशनमा यी व्यवस्था थिएन।












