काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको ग्रेस लिस्टबा बाहिरिन असफल भएको छ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट हटाउन नमानेको हो। यद्यपि, सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपाल गर्नुपर्ने मुख्य कार्यहरुबारे एफएटीएफले सुझाएको छ।
फ्रान्सको पेरिसमा शुक्रबार एफएटीएफको पूर्ण बैठक बसेको थियो। बैठकपछि एफएटीएफले प्रतिवेदन जारी गर्दै नेपाललाई ग्रे लिस्टमा राख्ने यसअघिको निर्णयलाई यथावत राखेको हो।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मै कायम रहेको जनाएको छ।
पछिल्लो समय नेपालले आफ्नो वित्तीय प्रणालीमा केही सुधार गरेको एफएटीएफको भनाइ छ। ‘तर, रणनीतिक कमजोरीहरु पूर्ण रुपमा समाधान गर्न बाँकी छन्’, प्रतिवेदनमा भनिएको छ, ‘विशेषगरी हुन्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्था र क्यासिनोको कडा सुपरिवेक्षण गर्न नेपालले ध्यान दिनुपर्छ।’
एफएटीएफले नेपाललाई तोकिएको समयसीमाभित्र आफ्ना रणनीतिक कमजोरी समाधान गर्न र दिइएको कार्ययोजना पूर्ण रुपमा कार्यान्वयन गर्न सुझाव दिएको छ।
ग्रे लिस्टबाट बाहिरिन नेपालले सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषणका जोखिम पहिचान गरी सुधार गर्नुपर्ने, वित्तीय प्रणालीलाई दुरुपयोग हुनबाट रोक्न वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थरका व्यापारी र घरजग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई सुधार गर्नुपर्नेछ, हुन्डी कारोबार पहिचान गरी कडा कारबाही गर्नुपर्ने, सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दाहरुको गहिरो अनुसन्धान गर्नका लागि नेपालका सक्षम निकायहरुको क्षमता अभिवृद्धि गर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अनुसन्धान गरेर कानुनसम्मत ढंगले समाधान गर्नुपर्ने र आपराधिक ढंगबाट प्राप्त आय र प्रयोग भएका साधनहरु राज्यको नाममा जफत गर्ने संयन्त्र कार्यान्वयन भएको प्रमाणित गर्नुपर्ने सुझाव दिएको छ।
एफएटीएले २०८१ फागुनदेखि २ वर्षका लागि ग्रे लिस्टमा राखेको छ। अब नेपालमाथि ग्रे लिस्टबाट बाहिरिन गर्नुपर्ने कार्ययोजना बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने थप दबाब सिर्जना भएको छ।












