काठमाडौं । प्राकृतिक विपत्तिबाट विश्वभर सन् २०२५ मा १२९ अर्ब डलरको बीमाकृत सम्पत्ति क्षति भएको छ। जुन सन् २०१५ देखि २०२४ को औसतभन्दा ५ प्रतिशत कम हो।
रिइन्स्योरेन्स ब्रोकिङ एन्ड एड्भाइजरी फर्म ग्यालघेर रिको प्रतिवेदनअनुसार प्राकृतिक प्रकोपबाट अमेरिकामा भएको क्षतिले नोक्सानी बढाएको हो। विश्वमा भएको कुल क्षतिको ७८ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२५ अमेरिकी बीमा क्षेत्रका महँगो साबित भयो। विशेषगरी लस एन्जेलसको बन डढेलोको घटनाले बीमाकृत सम्पत्तिको क्षति बढाएको छ। यो घटनामा मात्रै करिब ४१ अर्ब डलरबराबरको बीमाकृत सम्पत्ति क्षति भएको छ।
यसैगरी विश्वको कुल नोक्सानीमा आँधीको क्षति पनि उच्च रहेको छ। विभिन्न देशमा प्राकृतिक प्रकोपबाट भएको कुल क्षतिमा आँधीको हिस्सा करिब ४७ प्रतिशत रहेको छ। विश्वर आँधीबाट मात्रै करिब ६० अर्ब डलरको बीमाकृत सम्पत्ति क्षति भएकोमा अमेरिकामा मात्रै ५१ अर्ब डलरबराबर क्षतिको तथ्यांक प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।
प्राकृतिक प्रकोपहरुण्ले विश्वभरका धेरै क्षेत्रलाई असर गरेको छ। ‘तर, समग्रमा वित्तीय प्रभाव व्यवस्थापनयोग्य रहेको छ’, प्रतिवेदनमा भनिएको छ।
विकसित र उदीयमान अर्थतन्त्रहरुमा विभिन्न मौसम र जलवायु चरम सीमामा पुगेको छ। जसमध्ये धेरैजसो बढ्दो जोखिममा परेका छन्।
प्राकृतिक प्रकोपबाट प्रत्यक्ष आर्थिक क्षति २९६ अर्ब अनुमान गरिएको छ। सुरक्षा अन्तर भनेर चिनिने कुल आर्थिक र बीमा गरिएको क्षतिबीचको खाडल सन् २०२५ मा ५६ प्रतिशत अर्थात १६७ अर्ब डलरको रहेको छ। कम्तीमा ५८ घटनाले १ अर्ब डलरभन्दा बढी आर्थिक क्षति पुर्याएका छन्। –एजेन्सी












