काठमाडौं । प्राकृतिक प्रकोपबाट विश्व बीमा उद्योगमा दबाब जारी रहने अनुमान गरिएको छ।
विश्वव्यापी रुपमा प्राकृतिक प्रकोपबाट हुने बीमा गरिएको क्षतिले बीमा कम्पनी, नियामक र सरकारहरुले जोखिम मूल्यांकनमा सुधार नगरेसम्म, बीमा उत्पादन पुनः डिजाइन नगरेसम्म र जलवायु लचिलोपनसँग लगानीलाई मिलाउन नसकेसम्म बीमा उद्योगमा दबाब जारी रहने अनुमान गरिएको हो। ग्लोबल एसिया इन्स्योरेन्स पार्टनरसिपको अनुसन्धानले जलवायु परिवर्तनले बीमा उद्योगलाई बीमायोग्यता खराब विन्दुमा धकेलिरहेको देखाएको छ। ‘जहाँ जलवायु जोखिमहरु यति गम्भीर वा अप्रत्याशित हुन्छन् कि बीमा धेरै महँगो वा अनुपलब्ध हुन्छ’, अनुसन्धान प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले प्राकृतिक प्रकोपबाट विश्वव्यापी रुपमा बीमा गरिएको क्षति सन् २०२५ मा लगभग १०७ अर्ब डलर पुग्न सक्ने अनुमान गरेको छ। जुन लगातार छैटौँ वर्षको क्षति १०० अर्ब डलर माथि हो।
सन् २०२५ मा लस एन्जलसको डढेलो सबैभन्दा महँगो घटना थियो। जसले लगभग ४० अर्ब डलरको बीमा गरिएको क्षति निम्त्यायो। एसियामा सन् २०२५ मा तीव्र मनसुन वर्षा र चक्रवातले १ हजार ६०० भन्दा बढीको ज्यान लिएको थियो।
‘बीमा उद्योगले सामना गरिरहेको प्रश्न बीमा प्रभावित हुन्छ कि हुँदैन भन्ने नभएर जलवायु परिवर्तनका असंख्य प्रभावहरुका लागि कति तयार छौँ भन्ने हो’, ग्लोबल एसिया इन्स्योरेन्स पार्टनरसिपका प्रमुख कार्यकारी अधिकृत मिन हुङ चेङले भने, ‘बीमा कायम राख्नका लागि अग्रगामी सोचको जोखिम व्यवस्थापन, जलवायु–उत्तरदायी लगानी, बलियो सार्वजनिक–निजी सहकार्य र बढ्दो जोखिम न्यूनीकरण प्रयासहरु आवश्यक पर्नेछ।’
अनुसन्धानले पत्ता लगायो कि बीमा कम्पनीहरुले दुई अन्तर सम्बन्धित चुनौतीहरुको सामना गर्छन्। एउटा भौतिक जलवायु घटनाहरुबाट बढ्दो नोक्सान र अर्को कम–कार्बन अर्थतन्त्रमा विश्वव्यापी संक्रमणबाट उत्पन्न हुने नयाँ जोखिमहरु छन्। –एजेन्सी












