काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको २०८२।८३ को बजेट आउनुअघि नै चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सरकारले ल्याउनुपर्छ। राष्ट्र बैंकले भने नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति र हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।
सोही प्रावधानअनुसार केन्द्रीय बैंकले यही जेठ १५ गतेभित्र मौद्रिक समीक्षा ल्याउनुपर्नेछ। ‘सम्भवतः आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै मौद्रिक समीक्षा आउने’, राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले भने, ‘आउँदो साताभित्र समीक्षा आउँछ।’
आचार्यका अनुसार आर्थिक अनुसन्धान विभागमा मौद्रिक समीक्षा तयार गर्ने काम सुरु भइसकेको छ। ‘अझै समय बाँकी छ। यद्यपि बजेटअघि नै मौद्रिक समीक्षा आउनेछ’, उनले भने।
मुलुकका आर्थिक सूचकहरु सकारात्मक नै रहेकोले मौद्रिक समीक्षा सोहीअनुसार आउने आचार्यले बताए। ‘ठूलो फेरबदल नहोला’, उनले भने।
त्यसो त केन्द्रीय बैंकमा रिक्त गभर्नर पदमा साढे १ महिनापछि सरकारले अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो।
राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकमा गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको थियो। तर, राजनीतिक भागबन्डामा कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको हो।
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकबाट आवश्यक नीतिगत व्यवस्था गर्ने बताएका छन्। पदभार ग्रहणका क्रममा पौडेलले मौद्रिक नीति र वित्त नीतिको समञ्जस्यता कायम राख्ने पनि बताएका छन्।
नवनियुक्त गभर्नर पौडेलले बैंकहरुको कर्जा प्रवाहलाई लयमा फर्काउन आवश्यक नीतिगत व्यवस्था गर्ने पनि बताएका छन्। उनले बैंकहरुलाई बलियो बनाउन सुपरिवेक्षण पक्षमा दरिलो पार्ने बताएका छन्।
सम्भवतः मौद्रिक समीक्षा अर्को साता आउनेछ। नवनियुक्त गभर्नर पौडेलले मौद्रिक समीक्षामार्फत अर्थतन्त्रलाई लयमा फर्काउन उचित नीतिगत व्यवस्था ल्याउनेमा सबै क्षेत्र आशावादी छन्। अर्थतन्त्र बुझेका व्यक्ति गभर्नरमा नियुक्त भएकोले अब सबै क्षेत्र चलायमान हुनेमा उनीहरुको अपेक्षा छ।
शेयर बजार जानकार प्रेम ओलीले गभर्नरमा पौडेलको नियुक्तिले शेयर लगानीकर्तामा सकारात्मक महौल सिर्जना भएको बताए। ‘शेयर बजारलाई लयमा फर्काउन केही नीतिगत व्यवस्था परिमार्जन आवश्यक छ, त्यो कुरा नवनियुक्त गभर्नर पनि राम्ररी बुझेका छन्’, उनले भने, ‘त्यसैले मौद्रिक समीक्षामा उनले शेयर बजारमैत्री नीतिगत व्यवस्था ल्याउनेमा लगानीकर्ता आशावादी छन्।’
गभर्नर पौडेल निजी क्षेत्रलाई प्रोत्साहन गर्नेखाले व्यक्ति भएकोले पनि अर्थतन्त्रलाई बढावा दिन लागिपर्ने ओलीको भनाइ छ। ‘उनी शेयर बजारप्रति पनि सकारात्मक छन्’, उनले भने, ‘यसपालि शेयर लगानीकर्ताका माग सम्बोधन हुने विश्वास गर्न सकिन्छ।’