काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मोबाइलमा ग्राहकले खरिद गरेको डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स(बाँकी रकम) बाट पैसा काटिने प्रणालीमा सुधार ल्याउने भएको छ।
मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै, नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल डेटा सेवामा सुधार ल्याउने मन्त्रालयले जनाएको छ। डेटा सकिएपछि लाग्ने पे एज यू गो प्रणालीलाई उपभोक्ता स्वयमले निष्क्रिय गर्ने विकल्प रोज्न सक्नेछन् । यसबाहेक खरिद गरेको प्याकेजको ९० प्रतिशत डेटा खपत भएपछि उपभोक्तालाइ दूरसञ्चार कम्पनीले अनिवार्य सूचना पाउने व्यवस्था गरिन लागेको विज्ञप्तीमा उल्लेख छ।
मन्त्रालयले मोबाइल सेवाको गुणस्तर सुधार र नेपाल टेलिकमको सेवामा सुधारका प्रयासहरू पनि गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयका अनुसार, ३० दिनभित्र नीतिगत सुधार गरी ४ जी सेवाको गुणस्तर सुधार गर्न थप फ्रिक्वेन्सी उपलब्ध गराइने भएकोछ।
साथै नेपाल टेलिकमका ग्राहकले एक पटक व्यक्तिगत विवरण बुझाएपछि पुनः पेश गर्न नपर्ने गरी वन टाइम केवाइसी प्रणाली ३० दिनभित्र लागू गरिने र सिम वितरण, स्वामित्व हस्तान्तरण र हराएको सिम निकाल्ने जस्ता कार्यहरू ३० दिनभित्र पूर्ण रूपमा अनलाइन माध्यमबाट हुने व्यवस्था मिलाइने मन्त्रालयले विज्ञप्तीमा उल्लेख छ।
नेपाल टेलिकमका सबै कार्यालयमा ३० दिनभित्र वन स्टप सर्भिस डेस्क स्थापना गर्ने मन्त्रालयको तयारी छ। जहाँबाट सिम, इन्टरनेट, टेलिफोन जडान, लिज लाइन र महसुल भुक्तानी जस्ता सेवाहरू एकै ठाउँबाट प्राप्त हुनेछन्।












