काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि प्रस्थान अनुमति प्रक्रियाका सम्बन्धमा स्पष्ट पार्दै कुनै पनि थप बिल वा रसिद पेश गर्नुपर्ने अनिवार्य व्यवस्था नरहेको जनाएको छ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकहरूले बिल-रसिद जस्ता थप कागजात देखाउनुपर्ने भन्ने समाचार र सूचनाका कारण सर्वसाधारणमा अन्यौलता उत्पन्न भएपछि विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो।
अध्यागमन विभागका अनुसार, वैदेशिक रोजगारीका सिलसिलामा बाहिर जाने श्रमिकहरूले वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता न्यूनतम आधारभूत कागजातहरू मात्र पेश गरे पुग्नेछ। यसबाहेक अन्य कुनै पनि थप कागजात वा बिल-रसिद अध्यागमन कार्यालयमा बुझाउनु पर्दैन।
भिजिट भिसाका लागि नयाँ नियम
विभागले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नेपाली नागरिकहरूको हकमा पनि प्रक्रियालाई व्यवस्थित र सरलीकृत गरिएको जनाएको छ।
सूचना अनुसार भिजिट भिसामा जानेहरूले लागिकम्तिमा ६ महिना वैध अवधि भएको राहदानी,गन्तव्य मुलुकसम्मको हवाई टिकट, सम्बन्धित मुलुकको भिसा र स्वघोषणा फारम पेश गर्नुपर्नेछ।
अध्यागमन विभागले वैदेशिक यात्रामा जाने नेपाली नागरिकहरूलाई कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो यात्रा र गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भएर ढुक्कसँग यात्रा गर्न अनुरोध गरेको छ।












