काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको लघु बीमासम्बन्धी सर्वेक्षणमा आधारित प्रतिवेदनमा अधिकांश बीमकले नेपालको हालको लघुबीमा निर्देशिकाले बीमालेख विकासमा नवप्रवर्तनलाई सहजीकरण नगरेको बताएका छन्।
सर्वेक्षणमा सहभागी ८ परम्परागत बीमक र ३ लघुबीमकले उत्पादन नवप्रवर्तनमा निर्देशनको ‘कुनै सकारात्मक प्रभाव’ नभएको बताएका छन्। निर्देशिकामा बीमालेखमा नवप्रर्तन प्रोत्साहित गर्नका लागि कुनै नियामक स्यान्डबक्स वा परीक्षण र सिक्ने वातावरण नभएको उनीहरुको प्रतिक्रिया छ। यसबाहेक लघु जीवन बीमामा ५ लाख रुपैयाँ बीमांकको सीमा अति नै अव्यवहारिक र कठोर भएको टिप्पणी गरिएको छ।
बीमाशुल्क दर तोक्नका लागि मूल्य निर्धारण मार्गदर्शनको अभाव पनि औँल्याएका छन्। लघु बीमक र परम्परागत बीमकको परिभाषामा अस्पष्टता रहेको उनीहरुको भनाइ छ।
बीमालेख तयार पार्दा जीवन र निर्जीवन बीमालेखको समष्टिसहितको बीमा वा हाइब्रिड बीमाका लागि कुनै स्पष्ट रुपरेखा छैन।
फिलिपिन्स र दक्षिण अफ्रिकासहित प्रतिवेदनमा उद्धृत गरिएका अन्तर्राष्ट्रिय उदाहरणहरुले नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उपकरणका रुपमा नियामक स्यान्डबक्सहरु, समानुपातिक दण्डहरु र लचिलो उत्पादनको प्रावधान गरिएका छन्। नियामक स्यान्डबक्स फ्रेमवर्क, मानकीकृत सूक्ष्म उत्पादनहरु, औपचारिक साझेदारी टेम्प्लेटहरु, लैंगिक समावेशी रिपोर्टिङको व्यवस्था गर्न प्रतिवेदनले प्राधिकरणलाइ सुझाव दिएको छ।
बीमकले नवप्रवर्तन प्रोत्साहन, बिना लघु बीमा नेपालमा देखा परिरहेको जलवायु परिवर्तनशीलता र जीवनशैली रोगहरुजस्ता उदीयमान जोखिमलाई सम्बोधन गर्नुको सट्टा परम्परागत ढाँचाहरुमा स्थिर हुन सक्ने चेतावनी दिएका छन्।












