काठमाडौं । रूपन्देहीमा २०७५ सालदेखि सञ्चालनमा आएको लुम्बिनी प्यालेस रिसोर्टको स्तरोन्नति भएको छ। सियारी वडा नम्बर ५ मा रहेको यस रिसोर्ट अब लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा ब्रान्डमा सञ्चालन हुनेछ। लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा पाँचतारे होटल भएको सञ्चालकहरूले बताएका छन्।
होटलका अनुसार काठमाडौं उपत्यका बाहिर मेरियट इन्टरनेसनलको यो पहिलो होटल हो। अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत रिसोर्टका सञ्चालकहरू, उच्च पदस्थ पदाधिकारी, मेरियट इन्टरनेसनलका तर्फबाट एशिया–प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोभिल, डेभलपमेन्ट साउथ एसियाका सिनियर भाइस प्रेसिडेन्ट किरण अन्डीकट, जुही रोय लगायतको संलग्नतामा ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ (मेरियट इन्टरनेसनल) सँग होटल व्यवस्थापन सम्झौता भएको हो।
लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले यही आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ।नेपालकै पहिलो र एकमात्र वाटर रिसोर्ट, वाटर फाउन्टेन, वाटर शोज, म्युजिकल फाउन्टेन, त्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायत दर्जनौं पानीजन्य गतिविधिका सुविधा हुने होटलले जनाएको छ।
साथै, क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ, इकोलोजिकल इम्ब्यालेन्सेस लगायत विषय सम्बोधन गर्दै रिसोर्टलाई नेपालको पहिलो र एक मात्र ग्रीन सर्टिफिकेसन (गोल्ड) सहितको वेलनेस रिट्रिट एण्ड इको रिसोर्टको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ, होटलले भनेको छ।
यसअन्तर्गत ग्रीन सर्टिफिकेसन (गोल्ड) का लागि पूरा गर्नुपर्ने मापदण्डहरू जस्तै वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र कम प्रदूषण लगायतका प्रावधानहरूको पूर्ण परिपालन गर्ने लक्ष्य लिइएको पनि होटलले जनाएको छ।
प्राकृतिक एवं दिगो मानव स्वास्थ्य तथा नेचुरोप्याथीलाई पनि प्रवर्द्धन गर्दै अर्गानिक सर्टिफिकेसन सहितको नेपालको पहिलो र एक मात्र अर्गानिक फाइभ स्टार वेलनेस लक्जरी रिसोर्टको रूपमा यस रिसोर्टलाई विकास गर्ने लक्ष्यसमेत लिइएको छ ।
यसैगरी, स्पोर्ट्स टुरिजम समेत प्रवर्द्धन गर्न यस रिसोर्टलाई एउटै छातामुनि नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलहरूका लागि आवश्यक हुने अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण पूर्वाधार सहित नेपालको पहिलो र एक मात्र मल्टी स्पेसियालिटी रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तूपाज, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन्स, कल्चरल सेन्टर्स लगायत संरचनासमेत उपलब्ध हुनेछ। पूर्ण सञ्चालनमा आएपछि वाटर, इको, वेलनेस, स्पोर्ट्स, कल्चरल लगायत विश्व पर्यटनका विभिन्न विधाहरूको अनुभव हासिल गर्न चाहने एवं अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमहरूका लागि अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालको पहिलो र एक मात्र उत्कृष्ट गन्तव्यस्थलको रूपमा यस रिसोर्ट स्थापित हुने होटलको भनाइ छ।
स्थानीय रोजगारी, स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन गरी देशको अर्थतन्त्रमा प्रत्यक्ष एवं परोक्ष योगदान पुर्याउँदै देशकै एउटा नमूना गन्तव्यस्थलको रूपमा स्थापित गर्ने योजना रहेको होटलले जनाएको छ।












