काठमाडौं । देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
आज दिउँसो मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ। विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार आज राति तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।












