काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा बीमालेख नवीकरण गरेर १ खर्ब ५० अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले गत आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमकहरुले संकलन गरेको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सबै कम्पनीको नवीकरण बीमाशुल्क संकलन बढेको छ। नेपाल लाइफले सर्वाधिक नवीकरण बीमाशुल्क संकलन गर्दा वृद्धिदरमा आइएमई लाइफ अगाडि रहेको छ।
समीक्षा वर्षमा नेपाल लाइफले ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीमा नवीकरण बीमाशुल्क संकलन ८.८९ प्रतिशतले बढेको छ।
दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले १६७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ८.३१ प्रतिशतले बढेको छ।
तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। अघिल्लो वर्ष कम्पनीले १६ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्षमा ४.७९ प्रतिशतले बढेर १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ।
यसैगरी समीक्षा वर्षमा हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ५.२६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन्स लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सूर्यज्योति लाइफको १४.५० प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १.१२ प्रतिशत, एसियन लाइफको ९.५८ प्रतिशत, सिटिजन लाइफको १७.५८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १५.८५ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ।
यसैगरी समीक्षा वर्षमा मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नवीकरण बीमाशुल्क संकलन मेटलाइफको ८.५५ प्रतिशत, आइएमई लाइफको २५.७६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १५.४६ प्रतिशत, रिलायबल नेपाल लाइफको १७.४३ प्रतिशत र सन नेपाल लाइफको १६.४१ प्रतिशतले बढेको छ।













