IME Life New

बढ्दो निष्क्रिय कर्जा र प्रोभिजनले दबाबमा लक्ष्मी सनराइज बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था दबाबमा देखिएको छ। निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जाँदा बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने प्रोभिजन रकममा अस्वाभाविक वृद्धि भएको छ। जसको प्रत्यक्ष असर बैंकको नाफा–नोक्सान विवरणमा पनि देखिएको छ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको प्रोभिजन रकम १३१.८५ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो प्रोभिजन रकम १ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ मात्र थियो। वाणिज्य बैंकहरुमध्ये यो रकम सबैभन्दा बढी भएको देखिन्छ। जसले बैंकको जोखिम प्रोफाइल गम्भीर बन्दै गएको संकेत गर्छ।

Esewa
Crest

प्रोभिजनको भारी दबाबका कारण लक्ष्मी सनराइज बैंक चालु आवको दोस्रो त्रैमासमा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो। एक वर्षमै नाफाबाट नोक्सानीमा पुग्नु बैंकको वित्तीय कार्यसम्पादनमा आएको ठूलो गिरावटका रुपमा हेरिएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफासमेत ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक भएको छ। २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड रुपैयाँ रहेको भए पनि निरन्तर नोक्सानी र बढ्दो प्रोभिजनले भविष्यमा पुँजी संरचनामै दबाब पर्ने जोखिम देखिन्छ।

गत असार मसान्तमा ४.२५ प्रतिशतसम्म झरेको लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा पुस मसान्तसम्म आइपुग्दा ५.५० प्रतिशत पुगेको छ। यद्यपि, गत वर्षको पुसको तुलनामा निष्क्रिय कर्जा थोरै घटेको देखिए पनि पछिल्लो ६ महिनामा आएको वृद्धिले कर्जा असुलीमा पुनः कमजोरी देखिन थालेको संकेत गर्छ।

निष्क्रिय कर्जा बढेसँगै बैंकलाई कर्जा नोक्सानी व्यवस्थाका लागि ठूलो रकम छुट्याउनुपरेको छ। जसले सञ्चालन नाफालाई खुम्च्याउँदै अन्ततः बैंकलाई नोक्सानीतर्फ धकेलेको विश्लेषकहरुको भनाइ छ।

दोस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ भने १६६.२३ रुपैयाँ रहेको छ। यस्ता सूचकहरुले बैंकको दीर्घकालीन आधारभन्दा पनि तत्कालीन सञ्चालन क्षमतामा समस्या देखिएको संकेत गर्छन्।

लक्ष्मी बैंक र सनराइज बैंक २०८० असार अन्तिममा मर्ज भएको थियो। यसरी मर्ज भएर बनेको लक्ष्मी सनराइज बैंकमा मर्जरपछि स्थायित्व, कार्यदक्षता र जोखिम व्यवस्थापन सुदृढ हुने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय बैंकभित्र उल्टै बेथिति, अव्यवस्था र आन्तरिक कमजोरी बढ्दै गएको गुनासो कर्मचारीस्तरबाट उठ्न थालेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र बोर्ड अध्यक्ष रमण नेपालको नेतृत्वमा निर्णय प्रक्रिया एकपक्षीय र अपारदर्शी बन्दै गएको आरोप कर्मचारीहरु लगाउँदै आएका छन्। यस्ता आरोपहरुले बैंकको आन्तरिक सुशासनप्रति गम्भीर प्रश्न खडा गरेको छ।

लक्ष्मी सनराइज बैंक नेपाल राष्ट्र बैंकका निर्देशनहरु पूर्ण रुपमा पालना नगरेको आरोपमा अघिल्ला अवधिहरुमा समेत नियामकीय कारबाहीमा पर्दै आएको थियो। अहिले देखिएको वित्तीय दबाब, बढ्दो निष्क्रिय कर्जा र ठूलो प्रोभिजनले बैंकमाथिको नियामकीय निगरानी अझ कडा हुने संकेत देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS