IME Life New

शाैरभ ग्रुपले ल्याउँदैछ जगदम्बा स्पिनिङको आइपीओ, पायो त्रिपल बी माइनस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यापारिक समूह, शाैरभ ग्रुपले रूपन्देहीमा सञ्चालन गरिरहेको धागो उद्योग, जगदम्बा स्पिनिङ मिल्सले प्राथमिक शेयर निष्काशन(आइपीओ) ल्याउने भएको छ।

कम्पनीले शेयर निष्काशन प्रयोजनका लागि अनिवार्य मानिएको वित्तीय सबलता मूल्याङ्कन इन्फोमेरिक्स नेपालबाट गराएको छ। इन्फोमेरिक्स नेपालले यो कम्पनीलाई ‘त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ।

Esewa
Crest

कम्पनीले प्रस्तावित आइपीओको शेयर कित्ता र रकम सार्वजनिक जानकारीमा ल्याएको छैन।

इन्फोमेरिक्सका अनुसार, ‘त्रिपल बी माइनस’ रेटिङ(मूल्याङ्कन) प्राप्त कम्पनीले वित्तीय दायीत्वहरू पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको प्रत्याभूति भएको मानिन्छ। यस्ता शेयर जारीकर्ता कम्पनीहरूले मध्यम स्तरको उधारो(ऋण) जोखिम बोकेका हुन्छन् ।

साथै, इन्फोमेरिक्स नेपालले दीर्घकालीन बैंक सुविधाका लागि ‘ट्रिपल बी’ को मूल्याङ्कन प्रदान गरेको छ। यो कम्पनीले १ अर्ब ३७ करोड ५० लाख रूपैयाँ दीर्घकालीन कर्जा सुविधा लिएको छ। २ अर्ब ३४ करोड ६० लाख रूपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए थ्री प्लस’ मा स्तरोन्नति भएको छ।

गत आर्थिक वर्षमा यसको निर्यात व्यापारमा सुधारसँगै नाफामा पनि सकारात्मक प्रभाव देखिएपछि रेटिङ सुदृढ भएको इन्फोमेरिक्स नेपालले जनाएको छ। कुल उत्पादनको ९५ प्रतिशत भारत र तेश्रो मुलुकमा निर्यात गरिरहेको यो कम्पनी आयातित कच्चा पदार्थमा निर्भर रहेको छ। कुल निर्यातको ९५ प्रतिशत भारतीय बजारले ओगटेको छ।

त्यसैले विदेशी बजारमा धागोको माग र कच्चा पदार्थको आपूर्तीमा हुने उतार चढावको प्रभाव यसलाई पर्नेछ। गत आर्थिक वर्षमा समाप्त हुने विगत तीन आर्थिक वर्षहरूमा कम्पनीको कुल सञ्चालन आम्दानीको ८० प्रतिशत भन्दा बढी कच्चा पदार्थको खर्चले ओगटेको छ। यसले गर्दा कच्चा पदार्थको लागतको उतारचढावप्रति यसको नाफा अत्यधिक संवेदनशील बनेको छ।

सरकारले निर्यात प्रोत्साहनवापत निर्यात मूल्यको ४ देखि ८ प्रतिशतसम्म प्रोत्साहन(इन्सेन्टिभ) प्रदान गरिरहेकाले यसले कम्पनीलाई सहज बनाएको छ।

बजार माग बढेपछि अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा गत आवमा कारोबार आम्दानी ३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कच्चा पद्धार्थको मूल्य सस्तिएपछि ब्याज, कर, ह्रासकट्टी र ऋण चुक्ता अघिको नाफा १५.१९ प्रतिशत पुगेको थियो। अघिल्लो आवमा यस्तो नाफा जम्मा १२.२१ प्रतिशत रहेको थियो। करपछिको नाफा पनि ५.३९ प्रतिशतबाट ९.२० प्रतिशतमा उक्लिएको छ।

नाफामा सुधारसँगै गत आवमा यसले शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गरेको इन्फोमेरिक्स नेपालले उल्लेख गरेको छ।

कम्पनीमा लगानी थप्नका लागि गत आर्थिक वर्षमा एनआइबीएल इक्विटी क्यापिटलसँग यो कम्पनीले समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

सेप्टेम्बर २००५ मा स्थापित, जगदम्बा स्पिनिङ मिल्स लिमिटेडपछि जुलाई २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो। कम्पनीको उत्पादन एकाइ कमरिया-३, रूपन्देहीमा अवस्थित छ। कुल वार्षिक उत्पादन क्षमता १७,८८५  मेट्रिक टन भएको यो उद्योगले पोलिस्टर स्पन यार्न र पोलिस्टर भिस्कोस यार्न उत्पादनमा केन्द्रित छ।

इन्फोमेरिक्सका अनुसार, कम्पनीका प्रमुख शेयरधनीहरू दुर्गा प्रसाद न्यौपाने(३०प्रतिशत)विष्णु प्रसाद न्यौपाने(२१ प्रतिशत), वैभव न्यौपाने(१६ प्रतिशत) हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS