काठमाडौं । शेयर लगानीकर्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले शेयर कारोबार गर्दा ब्रोकरले लगानीकर्ताबाट १ प्रतिशत कर लिने कुरा हल्ला मात्र रहेको स्पष्ट पारेका छन्।
ढकालले आज आफ्नो फेसबुक पेजमा एउटा पोस्टमार्फत यस्तो स्पष्ट पारेका हुन्। ‘पछिल्लो समय शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर, एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ– लगानीकर्ताले टीएमएस/नेप्सेमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने होइन’, ढकालले लेखेका छन्, ‘दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पुँजीगत लाभकर ७.५ प्रतिशत वा १० प्रतिशत नै हो।’
ढकालले लेखेका छन्-
शेयर हस्तान्तरण शुल्कबारे सबैले बुझ्नुपर्ने कुरा
टीएमएस/नेप्सेमार्फत दैनिक हुने नियमित शेयर किनबेचमा १ प्रतिशत शुल्क लाग्दैन।
१ प्रतिशत शुल्क भने रु. २५ लाख वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट अर्थात् कम्पनीमा सीधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लाग्ने व्यवस्था हो।
त्यसैले टीएमएसमार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने कुरा सही होइन।
नियमित कारोबार
टीएमएसमार्फत हुने दैनिक कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क र पुँजीगत लाभकर मात्र लाग्छ। यसमा कुनै नयाँ १ प्रतिशत शुल्क थपिएको छैन।
अफ–मार्केट कारोबार
यो व्यवस्था सेबोन वा नेपाल सरकारको नीतिअनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो शेयर स्थानान्तरणलगायतका सीधै सीडीएससीमार्फत हुने नामसारीमा मात्र लागू हुन्छ।
यस सम्बन्धमा अहिले फैलाइएको होहल्लाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको छ। हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकालौँ।
ढकालले संयमित भएर कारोबार गर्न र तथ्यमा विश्वास गर्न पनि लगानीकर्ताले सुझाव दिएका छन्।












