काठमाडौं । अमेरिकाले इरानमा गरेको नयाँ हवाई आक्रमणपछि खाडी क्षेत्रका धेरै देशहरुबाट आक्रमणका खबरहरु आएका छन्।
बहराइनको गृह मन्त्रालयले यस्ता आक्रमणहरुका बारेमा ट्विटरमा धेरै सूचना पोस्ट गरेको छ। बहराइनले लेखेको छ, ‘सुरक्षा कारणले गर्दा हामी सतर्क छौँ। हामी देशका जनतालाई शान्त रहन र नजिकैको सुरक्षित स्थानमा शरण लिन आग्रह गर्दछौँ।’
बहराइनले आफ्ना नागरिकलाई आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीमा मात्र भर पर्न सल्लाह दिएको छ।
त्यस्तै कुवेत सेनाले सामाजिक सञ्जाल पोस्टमा लेखेको छ, ‘कुवेतको वायु रक्षा प्रणालीले हाल शत्रुको मिसाइल र ड्रोन आक्रमणको जबाफ दिइरहेको छ। सेनाको जनरल स्टाफले भनेको छ कि यदि विस्फोट सुनियो भने तिनीहरु शत्रुको आक्रमण रोक्नका लागि वायु रक्षा प्रणालीको कार्यहरुको हिस्सा हुन्।’
पोस्टमा थप भनिएको छ, ‘सबै मानिसलाई सम्बन्धित अधिकारीहरुले जारी गरेका सुरक्षा निर्देशनहरु पालना गर्न अनुरोध छ।’
कुवेती सेनाको जनरल कमान्डले देशका नागरिक र बासिन्दालाई अवरोध अपरेसनका क्रममा खसेको भग्नावशेषको नजिक नजान अपिल गरेका छन्। यसबाहेक सार्वजनिक सुरक्षा कायम राख्न उनीहरुले भग्नावशेषको फोटो वा भिडियो खिच्नु हुँदैन न त कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा साझेदारी वा प्रसार गर्नुपर्छ।
जनरल कमान्डले सबैलाई सम्बन्धित अधिकारीहरुले जारी गरेका सुरक्षा निर्देशनहरु पालना गर्न र आधिकारिक स्रोतहरुबाट मात्र जानकारी प्राप्त गर्न आग्रह गरेका छन्।
अमेरिकी आक्रमणको प्रतिक्रिया दिँदै इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले ट्विटरमा लेखेका छन्, ‘अमेरिकाले अझै सिकेको छैन कि धम्की र तोडिएको वाचा मूल्य चुकाउनुपर्छ। म स्पष्ट रुपमा भन्छु यदि अमेरिकाले आक्रमण गर्यो भने बदलाको हमलाको सामना गर्नुपर्नेछ।’
यसअघि अमेरिकाले इरानमा फेरि आक्रमण गरेको जनाएको थियो।
इरानी मिडियाका अनुसार देशको दक्षिणी तटीय क्षेत्रहरुमा विस्फोट सुनिएको थियो र फारसी खाडीमा इरानी–नियन्त्रित टापुहरुलाई लक्षित गरिएको थियो। –एजेन्सी












