काठमाडौं । यस वर्ष क्यानडामा अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ। कडा अध्ययन अनुमतिका कारण क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश घट्न थालेको हो।
यो गिरावटको व्याख्या गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सरकारले आप्रवासनमा नियन्त्रण प्राप्त गरिरहेको र अझ दिगो तथा भरपर्दो आप्रवासन प्रणाली निर्माण गरिरहेको तर्क गरेका छन्। ‘यसले भविष्यमा राम्रो प्रणालीतर्फ डोरÞ्याउनेछ’, उनले भने, ‘हामीले आप्रवासनमा नियन्त्रण पुनः प्राप्त गरेका छौँ। शरण दाबी एक तिहाइले घटेको छ। अस्थायी विदेशी कामदारको संख्या लगभग आधा भएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि ६० प्रतिशतले घटेको छ। अब हामी क्यानेडियाली मूल्यमान्यताहरुसँग मिल्दो दिगो आप्रवासन प्रणाली सावधानीपूर्वक निर्माण गर्न सक्छौँ।’
यो गिरावट मुख्यतया क्यानेडियन सरकारले चालेका नीतिहरुका कारणले हो। यी नीतिहरुमा कडा अध्ययन अनुमति, उच्च वित्तीय आवश्यकता र कडा स्नातकोत्तर कार्य अनुमति आवश्यकता समावेश छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि विश्वको शीर्ष गन्तव्यमध्ये एउटा क्यानडाको प्रतिष्ठा पनि घटेको छ। क्यानेडियन विश्वविद्यालयहरुले पहिले ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्थे। हाल ती विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय विद्यार्थीको भर्नामा उल्लेखनीय गिरावट अनुभव गरिरहेका छन्। विद्यार्थीहरुले अब क्यानडाभन्दा विश्वका अन्य विश्वविद्यालयलाई प्राथमिकता दिइरहेका छन्।
आप्रवासन शरणार्थी र नागरिकता क्यानडा (आईआरसीसी)को एउटा प्रतिवेदनअनुसार जनवरी र अक्टोबर २०२५ बीच क्यानडा आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या २०२४ को सोही अवधिको तुलनामा ६० प्रतिशतले घटेको छ। यस अवधिमा क्यानडा आउने विद्यार्थीको संख्या १ लाख ५० हजारभन्दा बढीले घटेके छ।
सन् २०२५ मा प्रत्येक महिना क्यानडा आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या गत वर्षको सोही अवधिको तुलनामा घट्यो। नयाँ नियमहरुले आवेदन प्रक्रियालाई अझ प्रतिस्पर्धी बनाएको छ। विद्यार्थीहरुले चाँडै आवेदन दिनुपर्नेछ, बलियो वित्तीय क्षमता प्रदर्शन गर्नुपर्नेछ र पूर्ण कागजातहरु पेस गर्नुपर्नेछ।
वैकल्पिक गन्तव्य खोज्दै विद्यार्थी
आईआरसीसीको प्रतिवेदनमा नयाँ नीतिहरु क्यानडामा अध्ययन गर्न र बसोबास गर्न साँच्चै तयार भएका विद्यार्थीलाई आकर्षित गर्न डिजाइन गरिएको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बाटो खुला छ तर नीतिहरु बढ्दो रुपमा गाह्रो हुँदै गएको छ। विद्यार्थीहरुलाई अध्ययन गर्न अन्य ठाउँहरु विचार गर्न बाध्य पारिरहेको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुको गतिशीलता अनुगमन गर्ने संस्था आईसीईएफ मनिटरका अनुसार क्यानडामा अध्ययन अनुमतिपत्र अस्वीकृति दर सन् २०२३ मा ३८ प्रतिशतबाट बढेर २०२४ मा ५२ प्रतिशत पुगेको छ। –एजेन्सी












