काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ।
हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। बीमकहरुले मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी कुल लगानीयोग्य रकमको ३० प्रतिशत, विकास बैंकमा १० प्रतिशत र फाइनान्स कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को १० महिना वैशाखसम्मको तथ्यांकले पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब साढे ३ प्रतिशतले बढेको देखाएको छ।
वैशाखसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७० अर्ब ६७ करोड ५५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को वैशाखसम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ४८ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा अवधिसम्म बीमकको लगानी ३.४९ प्रतिशतले बढेको हो।
यसैगरी चालु वर्षको वैशाखसम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ७५ अर्ब ६३ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको लगानी ०.२९ प्रतिशतले बढेको छ।
उता नागरिक लगानी कोषले समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब २८ अर्ब ९४ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ३१ अर्ब ३ करोड ५२ लाख रुपैयाँ लगानी गरेको थियो। कोषको लगानी १.६० प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ५१ खर्ब ५९ अर्ब ७० करोड २९ लाख रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४३ खर्ब ३५ अर्ब १९ करोड ७ लाख रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप १९.०२ प्रतिशतले बढेको छ।












