काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ९ महिना (साउन–चैत)सम्म बीमा कम्पनीहरुले ५१ अर्ब ५९ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए। अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको चैतसम्म जीवन बीमा कम्पनीहरुबाट ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी १ लाख ४४ हजार ३०६ वटा दाबीको हो।
अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ८२ ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या २८.१४ प्रतिशत र रकम ३१.४५ प्रतिशतले घटेको छ।
यसैगरी चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमकहरुले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः ९.८३ प्रतिशत र २२.२४ प्रतिशतले बढेको छ।
गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरुको दाबी भुक्तानी रकम बढेको हो।
चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। जसमा जीवन बीमकहरुले ६१ हजार ५१६ वटा दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ।












