काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुमा साढे ४ करोड रुपैयाँ बढीको दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले बीमकहरुबाट प्राप्त वैशाख ३ गतेसम्म तथ्यांक सार्वजनिक गर्दै हुलदंगाका कारण भएको क्षतिमा १२ वटा बीमा कम्पनीमा ५० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो।
तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले हुलदंगाबाट क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ। यो कम्पनीले ५ वटा दाबी ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ।
हुलदंगाबाट भएको क्षतिमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ। यो कम्पनीले २ वटा दाबीको १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ। कम्पनीले ८ वटा दाबीबापत ७६ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ। सिद्धार्थले ५ वटा दाबीको २६ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ वटा दाबीको ७५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीले हालसम्म २ वटा दाबीको २ लाख २ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।
त्यस्तै नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा दाबीको २२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ वटा दाबीको १७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले एउटा दाबीको २८ हजार ३०० रुपैयाँ भुक्तानी गरिसकेको छ।
प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले एउटा दाबीको ८ लाख ७१ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले एउटा दाबीको ६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २ वटा दाबीको १ लाख १० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।