काठमाडौं । नेपाल बीमा प्राधिकरण चालु आर्थिक वर्ष २०८२।८३ को १० महिना वैशाखसम्म करिब २९ प्रतिशत मात्र उजुरी फर्छ्यौट गरेको छ।
प्राधिकरण आफैँले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष वैशाखसम्म ५४३ वटा उजुरी परेका थिए। जसमा गत आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका उजुरी ३९४ वटा तथा चालु आर्थिक वर्षको वैशाखसम्म परेका १४९ वटा छन्। यो वर्ष प्राधिकरणको केन्द्रीय कार्यालयमा १०४ वटा प्रदेश कार्यालयहरुमा ४५ वटा उजुरी परेका छन्।
प्राधिकरणमा परेका उजुरीमध्ये वैशाखसम्म १५७ वटा फर्छ्यौट भएका छन्। जुन कुल उजुरीको २८.९१ प्रतिशत मात्रै हो।
फर्छ्यौट भएका उजुरीमध्ये ११७ वटा फैसला र ४० वटा सहमतिमा टुंगो लागेको प्राधिकरणले जनाएको छ। अब ३८६ वटा उजुरी टुंगो लाग्न बाँकी छ।
चालु आर्थिक वर्षमा पनि प्राधिकरण उजुरी टुंगो लगाउने कार्यमा खासै प्रगति गर्ने देखिँदैन। त्यसो यो वर्ष लगातार रुपमा अध्यक्ष र सञ्चालक फेरिँदा पनि प्राधिकरणको न्यायिक सम्पादन कार्य सुस्त बनेको अनुमान गर्न सकिन्छ।
गत आर्थिक वर्षमा पनि प्राधिकरणबाट १३१ वटा उजुरी मात्रै फर्छ्यौट भएको थियो। जब कि उजुरी ५२५ वटा परेको थियो। गत वर्ष पनि प्राधिकरणले करिब २५ प्रतिशत मात्रै उजुरी टुंगो लगाउन सकेको थियो।












