काठमाडौं । नेपाल बीमा प्राधिकरणको अनुसन्धान शाखाले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सन्तुष्टि मापनका लागि सञ्चालन गरिरहेको छ।
प्राधिकरणले सर्वेक्षणका क्रममा बीमकको प्रत्येक कर्मचारीसँग उनीहरुले पाएको कार्य बोझ र जिम्मेवारीको अवस्था, कार्य सम्पादन र कार्य वातावरण सम्बन्धमा कर्मचारीको सन्तुष्टि, वृत्ति विकासका लागि कर्मचारीलाई उपलब्ध गराइएको अवसरबारे पनि तथ्य संकलन गरेको छ।
प्राधिकरणले गुगल सिटमार्फत वस्तुगत प्रश्न उत्तरका आधारमा कर्मचारीबाट जानकारी संकलन गरेको हो। सर्वेक्षणमार्फत विवरण संकलन गर्ने क्रममा प्राधिकरणले सर्वेक्षणमा संकलन गरिने व्यक्तिगत तथ्य र जानकारीहरु गोप्य राखिने र अध्ययन प्रयोजनका लागिमात्र प्रयोगमा ल्याइने आश्वासन दिएको छ। यद्यपि, विगतका अनुभवहरुमा प्राधिकरणका जिम्मेवार कर्मचारीबाटै सूचना चुहाइएको, कर्मचारीले उजुरी गरेको विषयबारे व्यवस्थापन पक्षलाई जानकारी गराएकोलगायतका गैरव्यावसायिक गतिविधिले कर्मचारी संशकित हुनु परेको कर्मचारी युनियनका अगुवाहरुको भनाइ छ।
पछिल्लो समयमा नेपालको बीमा क्षेत्रमा कम्पनीहरुले खर्च कटौतीलाई प्राथमिकता दिँदै स्थायी कर्मचारीलाई बिदाइ गर्दै अस्थायी र करार प्रकृतीका कर्मचारी नियुक्त गर्ने प्रवृत्ति बढेको छ। यसबाहेक बीमकले कर्मचारीलाई सिधै नियुक्त गर्नुको साटो तेस्रो पक्षमार्फत नियुक्त गरेर स्थायी नियुक्तिको सम्भावनालाई टार्ने प्रयास जारी राखेका छन्।
बीमा कम्पनीहरुभित्र कर्मचारी सेवा, सुविधा, नियुक्तिलगायतको विषयमा थुप्रै विकृति रहेको गुनासो कर्मचारी युनियनका नेताले गर्दै आएका छन्। कर्मचारीले खाइपाइ आएको सेवा–सुविधा कटौती गर्ने, अपायक भूगोलमा सरुवा गरेर राजीनामा गर्न बाध्य पार्ने, कार्य जिम्मेवारीविहीन बनाएर मानसिक तनाव दिने प्रवृत्तिले व्यापकता पाएको पीडित कर्मचारीहरुको गुनासो छ।
श्रम ऐन २०७४ को प्रावधानसँग बाझिने गरी कर्मचारी विनियमावलीमा बिदासम्बन्धी प्रावधान राखिएको गुनासो पनि छ।
सबैभन्दा पीडामा करारमा वा तेस्रो पक्षमार्फत् नियुक्त गरिएका कर्मचारीहरु छन्। उनीहरु पटक–पटक करार नवीकरणको जालोमा जेलिने गरेका छन्। श्रम ऐनअनुसार बढीमा ६ महिनाको परीक्षण अवधि पूरा भएपछि स्थायी नियुक्ति दिनुपर्नेमा केही बीमकमा ५ वर्षभन्दा पनि लामो समयदेखि करारमै कर्मचारी कार्यरत छन्।
पछिल्लो समयमा प्राधिकरणले अनुसन्धानलाई प्राथमिकता दिएको छ। केही महिना अघिमात्र प्राधिकरणले लघु बीमाको प्रभाव र बीमांकी विश्लेषकको रोजगारको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो।












