काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनसम्म ७३ वटा उजुरी मात्रै फर्छ्यौट भएको पाइएको छ।
प्राधिकरणले आफैँले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कुल उजुरीमध्ये प्राधिकरणबाट हालसम्म करिब १५ प्रतिशतमात्रै फर्छ्यौट भएको छ भने ८५ प्रतिशतभन्दा बढी उजुरी टुंगो लाग्न बाँकी रहेको छ।
फागुनसम्म प्राधिकरणको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयमा कुल ४८९ वटा उजुरी परेको देखिन्छ। जसमा अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका ३९४ उजुरी छन्। चालु आर्थिक वर्षको फागुनसम्म केन्द्रीय कार्यालयमा ६७ र प्रदेश कार्यलयमा २८ वटा गरी थप ९५ वटा उजुरी परेका छन्।
फागुनसम्म ५५ वटा उजुरीको फैसला र १८ वटाको सहमति गरी जम्मा ७३ वटा उजुरी फर्छ्यौट भएका छन्। जुन कुल संख्याको १४.९३ प्रतिशतमात्रै हो। यस हिसाबले अझै ८५.०७ प्रतिशत अर्थात ४१६ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।












