काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म करिब १२ प्रतिशतमात्रै उजुरी फर्छ्यौट भएको छ। यसले प्राधिकरणको न्यायिक सम्पादन कार्य निकै सुस्त रहेको दर्शाउँछ।
प्राधिकरण आफैँले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार प्राधिकरणको केन्द्रीय कार्यालय र प्रदेश कार्यलयमा चालु आर्थिक वर्षको पुससम्म जम्मा ४६५ वटा उजुरी परेका छन्। जसमा अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका ३९४ उजुरी छन्। चालु आर्थिक वर्षको पुससम्म केन्द्रीय कार्यालयमा ५० र प्रदेश कार्यलयमा २१ वटा गरी थप ७१ वटा उजुरी परेका छन्।
चालु आर्थिक वर्षको पुससम्म ३३ वटा उजुरीको फैसला र १६ वटाको सहमति गरी जम्मा ४९ वटा उजुरी फर्छ्यौट भएका छन्। जुन कुल संख्याको ११.७८ प्रतिशतमात्रै हो। यस हिसाबले अझै ८८.२२ प्रतिशत अर्थात ४१६ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।
पछिल्लो समय सञ्चालक समितिले समयमै पूर्ण नपाउँदा र पटक–पटक अध्यक्षको हेरफेरले पनि न्यायिक सम्पादन कार्यले गति लिन नसकेको स्वयं प्राधिकरणका अधिकारीहरु बताउँछन्।












