काठमाडौं । भारतको कर्नाटकको राजधानी बेंगलुरुबाट लगभग १७७ किलोमिटर टाढा एउटा घटना भयो। यो घटनाले प्रहरी अधिकारीहरु निद्रा उडायो। घटना सन् २०२४ अगस्ट १२ को हो।
त्यस ठाउँमा गन्डसी प्रहरीचौकी थियो। एक महिला प्रहरीचौकीमा आइपुगिन् र भनिन्, ‘मेरा श्रीमानलाई लरीले किच्यो। उहाँको मृत्यु भयो।’
शिल्पा रानी नाम गरेकी ती महिलाले आफूहरुकी छोरी मंगलुरुमा पढ्छिन् र उनलाई भेटेर फर्किरहेको बेला यो घटना भएको जानकारी प्रहरीलाई दिइन्। आर्सिकेरे क्षेत्र नजिकै उनको कारको टायर पन्चर भयो र उनका चालक सोमेसले टायर परिवर्तन गर्न थाले। शिल्पाले भनिन्, मेरा श्रीमान मुनिस्वामी गौडा पछाडिबाट स्टेपनी बोकेर आउँदै थिए, त्यही बेला तीव्रगतिमा आएको लरीले आएर उहाँलाई कुल्च्यो। घटनास्थलमै मृत्यु भयो।’
प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गर्यो। लरीको खोजी गर्न एउटा टोली पनि खटाइएको थियो। शिल्पाले शव पहिचान गरिन् र कागजी कार्य पूरा गरेपछि पतिको दाहसंस्कार गरिन्।
सुरुमा प्रहरीले शिल्पा आफ्नो पतिको मृत्युको शोकमा रहेको महसुस गरेको थियो। त्यसैले त्यतिबेला उनलाई सोधपुछ गर्नु उचित थिएन र केही दिन यसरी नै बित्यो।
केही दिनभित्रै प्रहरीले लरी चालकलाई पक्राउ गर्यो। तर, यसबीचमा भएका केही यस्ता घटनाक्रमले प्रहरी अधिकारीहरु शंका परे। जब प्रहरीले केही दिनपछि मुद्दाको अनुसन्धान सुरु गर्यो तब शिल्पाले डाक्टरहरुलाई विशेष अनुरोध गरेको कुरा प्रकाशमा आयो। उनले आफ्ना पतिको मृत शरीरको अनुहार सकेसम्म धेरै पट्टीले छोप्न अनुरोध गरेकी थिइन्। प्रहरीले बुझ्न सकेन कि शिल्पाले किन यस्तो अनुरोध गरिन् ?
तीन प्रश्नले मुद्दालाई बनायो जटिल
प्रहरी यो रहस्यमा अल्झिरहेको बेला अर्को चकित पार्ने कुरा प्रकाशमा आयो। शिल्पाले आफ्नो पतिको बीमाबाट भारु ४ करोड दाबी गरेको खुलासा भयो। प्रहरी अधिकारीहरु झन सशंकित भए। त्यसपछि शिल्पाको पतिको पोस्टमार्टम रिपोर्टले उनीहरुको शंका अझ बढायो। पोस्टमार्टम रिपोर्टमा दुर्घटना हुनुभन्दा पहिले ती व्यक्तिको घाँटी थिचेर हत्या गरिएको उल्लेख थियो।
अब यो मुद्दा एकदमै जटिल बनिसकेको थियो। डाक्टरहरुलाई शिल्पाको अनुरोध बीमा रकमको दाबी र पोस्टमार्टम रिपोर्टलगायतका कुराले यो तथ्यलाई औँल्याइरहेका थिए कि यो मुद्दाको कथा उनीहरुलाई भनिएको जस्तो थिएन।
मरेको मान्छे फर्किए जीवित
घटनाले यस्तो मोड लियो कि कसैले कल्पना पनि नगरेको कुरा भयो। मृत्यु भइसकेका भनिएका मुनिस्वामी एक दिन अचानक सिद्धलघट्टा प्रहरीचौकीमा तैनाथ इन्स्पेक्टर श्रीनिवासलाई भेट्न गए। उनको अन्त्येष्टिमा उपस्थित हुनेहरुमा इन्स्पेक्टर श्रीनिवास पनि थिए। मुनिस्वामीलाई आफ्नो अगाडि देखेर उनी छक्क परे। किनकि मुनिस्वामी र श्रीनिवास आफन्त पनि थिए। मुनिस्वामी आफ्नो कर्तुत लुकाउन मद्दत गर्न श्रीनिवासलाई भेट्न पुगेका थिए।
यद्यपि, श्रीनिवासले त्यसो गरेनन् र मुद्दाको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकारी राघवेन्द्र प्रकाशलाई मुनिस्वामी जीवित रहेको जानकारी दिए। उनलाई तुरुन्तै पक्राउ गरियो र त्यसपछि यो घटना पानीजस्तै छर्लंग भयो।
यो सम्पूर्ण षड्यन्त्र मुनिस्वामी आफैँले रचेका थिए। जसमा उनकी पत्नी शिल्पा, चालक सोमेश र लरी चालक संलग्न थिए।
‘शिवाजीः द बोस’बाट आइडिया
पेसाले किसान मुनिस्वामी बेंगलुरुनजिकै होस्कोटमा टायर पसल थियो। जसमा उनले ठूलो घाटा व्यहोरे। घाटा कम गर्न उनले साथीहरुबाट पैसा सापटी लिए तर ऋणको बोझ बढ्दै गयो। अब मुनिस्वामीले यो ऋणबाट मुक्त हुनका लागि कुनै अर्को तरिका अपनाउने निर्णय गरे।
यसै क्रममा मुनिस्वामीले सुपरस्टार रजनीकान्तको तमिल फिल्म ‘शिवाजीः द बोस’ हेरे र उनको दिमागमा एउटा विचार आयो। फिल्ममा रजनीकान्तको पात्रलाई मृत मानिन्छ। तर उनी मृत हुँदैनन्। उनको ठाउँमा उनीजस्तै शरीर राखिएको हुन्छ। आफ्नो बीमाको पैसा प्राप्त गर्न मुनिस्वामीले यही फिल्मबाट योजना बनाए।
आफूजस्तै देखिने व्यक्तिको खोजी
मुनिस्वामी सन् २०२४ जुनमा आफूजस्तै देखिने व्यक्ति खोज्न थाले। केही दिनको कडा परिश्रमपछि उनले एकजना फोहोर टिप्ने व्यक्ति भेट्टाए, जो उचाइ र बनावटमा ठ्याक्कै आफूजस्तै थिए। मुनिस्वामीले ती मानिससँग मित्रता गाँसे र उनलाई दैनिक केही खाना र पैसा दिन थाले। उनी बलियो योजनामा काम गरिरहेको थियो। त्यसैले उनले यो फोहोर टिप्ने व्यक्तिको रगत समूह पनि जाँच गराए।
लगभग २ महिनापछि मुनिस्वामीले नायका नामक लरी चालकलाई भाडामा लिए। उनले नायकालाई नयाँ लरी किनिदिए र भारु ५ लाख नगद दिए। सन् २०२४ अगस्ट १२ मा उनले फोहोर टिप्ने व्यक्तिलाई घुम्न लैजाने बहानामा आफूसँगै लगे र मौका मिल्नासाथ घाँटी थिचेर हत्या गरे।
पछि नायकाले ती मृत्यु भइसकेका व्यक्तिमाथि लरी चलाए। मुनिस्वामीको योजना थियो कि उनको मृत्युको झुटो कथा बनाएपछि शिल्पाले बीमाको पैसा पाउनेछिन्। बीमा पैसाले आफ्नो सबै ऋण तिर्ने र नेपालमा गएर लुकेर बसोबास गर्ने उनको योजना थियो। तर, उनको आफ्नै नातेदारले उनको योजना विफल पारिदिए।
प्रहरीले शिल्पा र सोमेसलाई पनि पक्राउ गरेको छ। यद्यपि, त्यो फोहोर टिप्ने व्यक्ति को थिए भन्ने रहस्य अझै खुलेको छैन। हाल यो मुद्दा अदालतमा चलिरहेको छ। – इन्डियन एक्सप्रेसबाट