काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो ३४ दिनमा सरकारले १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
आर्थिक वर्षको पहिलो ३४ औँ दिन (बुधबार) सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल १ खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।
यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्यतर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। जसलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन्।
राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरुलाई काम गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिँदै आएका छन्।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्ब रुपैयाँले बढी हो।












