काठमाडौं । दक्षिण कोरियामा एक महिलालाई आफ्नै पुरुष सहकर्मी पाइन्ट तानेकोमा नगद जरिवाना गरिएको छ।
दक्षिण कोरियाली अदालतले अन्दाजी ५० वर्षीय ती महिलालाई यौन दुर्व्यहार गरेको ठहर गर्दै २ हजार १०० अमेरिकी डलर (२ लाख ८८ हजार रुपैयाँ) नगद जरिवाना गरेको हो। योसँगै ती महिलालाई ८ घन्टाको यौन दुर्व्यहार निवारणसम्बन्धी शिक्षा लिन पनि अदालतले निर्देशन दिएको छ।
यो घटना गत अक्टोबरमा दक्षिण कोरियाको ग्याङवङ प्रदेशमा रहेको एउटा रेस्टुरेन्टामा भएको थियो। त्यहाँ दुर्घटनावश ती महिलाले अन्य सहकर्मीसामु ती पुरुष सहकर्मी पाइन्टसँगै भित्री वस्त्र तानेकी थिइन्।
यो घटनाबाट पीडित बनेका ती २० वर्षीय पुरुष सहकर्मीले ती महिलाविरुद्ध चुचेअन जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा सुनुवाइका क्रममा ती महिलाले आफूले जानी–जानी नभएर ती पुरुष सहकर्मीमाथि हँसीमजाकमात्र गरेको दाबी गरेकी थिइन्।
गत शनिबार अदालतले भने ती महिलाको दाबी खारेज गर्दै नगद जरिवानाको फैसला गरेको हो। –एजेन्सी