काठमाडौं । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन्। आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आवद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय छन्। गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन्।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत बोल्दै आएका छन्। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने आइएमईको विश्वास छ।
आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भने, ‘उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ।’ साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उल्लेख गरे।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए। उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता जनाए।












