काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले हार स्वीकार गर्दै प्रतिष्पर्धी सोभिता गौतमलाई बधाई दिएकी छन् । उनले भनिन, “मैले कामद्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ, मत जित्नेमा सोविता गौतमलाई धेरै धेरै बधाई ।”
उनले सामाजिक संजालमा एक पोष्ट गर्दै भनेकी छन्, “जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै मैले मेरा सपना ठानें, झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें।
मलाई लाग्यो बिकासका लागी जनताका पक्षमा राम्रा निति नियम नहुनाले कामहरू असहज भईरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएं। यधपी मत परिणाम आईसकेको छ। जनताको अमुल्य मतको सम्मान गर्दछु।
प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन। आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना ब्यक्त गर्दछु। यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु। तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।”
उनले चुनाबी अभियानमा निरन्तर सकृय र उत्साहका लाथ खटिने नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं मिडीयाकर्मी ,कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गरेकी छन् ।












