काठमाडौं । सीडीएससीकी प्रबन्ध निर्देशक एवं कार्यकारी प्रमुख प्रवीण पन्दकले सिंगल आइजीन बनाइदिन्छु भन्ने हल्ला सुनिरहेको बताएकी छन्।
धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिक, २०८२ (आइजीन निर्देशिका)को मस्यौदामाथि छलफल गर्न आज आयोजित कार्यक्रममा पन्दकले उक्त जानकारी दिएकी हुन्। नेपाल धितोपत्र बोर्डलाई लक्षित गर्दै उनले भनिन्, ‘बजारमा सिंगल आइजीन बनाइदिन्छु भन्ने हल्ला सुनिन्छ। त्यस्तो नहोस्।’
आइजीन निर्देशिकका लागू गर्न सीडीएससीले संघर्ष गरिरहेको पन्दकले सुनाइन्। ‘हामीले निकै दबाब र थर्काइ सहनुपरेको छ’, उनले भनिन्, ‘अहिले यो दुर्लभ घडी निकै चुनौतीपूर्ण छ।’
धितोपत्र बोर्डकै अध्यक्षसँगैको सल्लाहमा आइजीन निर्देशिकाको परिकल्पना गरिएको पनि पन्दकले जानकारी दिइन्। ‘तर, यो निर्देशिकाबारे लगानीकर्तामा अफवाह फैलाउने काम भइरहेको छ’, उनले भनिन्, ‘कतिसम्म भने यो कार्यक्रम पनि स्थगित गर्न दबाब आएको थियो। तर, हामी लगानीकर्ताको हकहितका लागि चिन्तित छौँ। आइजीनको लडाइँ लडिरहन्छौँ।’
पन्दकले निर्देशिकामा एउटै समूहका शेयरलाई एउटै आइजीन र फरक–फरक समूहका शेयरलाई डबल आइजीन दिने व्यवस्था प्रस्ट रुपमा उल्लेख रहेको बताइन्। ‘शेयरको लकइन अवधि पनि समूहअनुसार फरक–फरक छ’, उनले भनिन्।
धितोपत्र बोर्डमा आइजीन निर्देशिका ६–७ महिनादेखि अड्केर बसेको पनि पन्दकले बताइन्। ‘यो स्वीकृत भएर लागू हुनेछ भन्ने हामीलाई विश्वास छ’, उनले भनिन्।












