काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्म निर्जीवन बीमकहरुले सवा २४ अर्ब रुपैयाँ माथिको व्यापार भित्र्याउन सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। जसमा १४ वटा निर्जीवन बीमकको हिस्सा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमकको हिस्सा ६२ करोड ६७ लाख रुपैयाँ रहेको छ।
पुससम्म निर्जीवन बीमकहरुले मोटर बीमामार्फत सर्वाधिक व्यापार भित्र्याएका छन्। मोटर बीमामार्फत कम्पनीहरुले ८ अर्ब १ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कुल व्यापार मोटर बीमाको हिस्सा ३२.९८ प्रतिशत रहेको छ।
यसैगरी दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत कम्पनीहरुले भित्र्याएका छन्। कम्पनीहरुले सम्पत्ति बीमालेख जारी गरेर ५ अर्ब ९० करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.३१ प्रतिशत रहेको छ।
तेस्रो धेरै व्यापार इन्जिनियरिङ र ठेक्का बीमाको रहेको छ। कम्पनीहरुले यो बीमालेख जारी गरेर ३ अर्ब ८४ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कुल व्यापार इन्जिनियरिङ बीमाको हिस्सा १५.८१ प्रतिशत रहेको छ।
स्तै कम्पनीहरुले विविध बीमामार्फत २ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ, सामुद्रिक बीमामार्फत १ अर्ब ४६ करोड १५ लाख रुपैयाँ, हवाई बीमामार्फत ९२ करोड ९८ लाख रुपैयाँ, कृषि तथा बाली बीमामार्फत ८६ करोड ३६ लाख रुपैयाँ र लघु बीमामार्फत ६३ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा विविधको हिस्सा १०.९० प्रतिशत, सामुद्रिकको ६.०१ प्रतिशत, हवाईको ३.८३ प्रतिशत, कृषि तथा बालीको ३.५५ प्रतिशत र लघुको २.६१ प्रतिशत रहेको छ।













