काठमाडौं । निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को १० महिना वैशाखसम्म ४१ अर्ब ३९ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्म निर्जीवन बीमकहरुले ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ १२ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ व्यापार भित्र्याएका छन्।
कम्पनीहरुको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीहरुले ९ अर्ब ७३ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा अवधिसम्म यो क्षेत्रबाट कम्पनीहरुले ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
चालु आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुले विविध बीमातर्फ ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ र लघु बीमातर्फ १ अर्ब ११ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
बजार हिस्सा कति ?
चालु आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुको कुल व्यापारमा मोटर बीमाको सर्वाधिक ३०.५२ प्रतिशत हिस्सा देखिएको छ।
यसैगरी कुल व्यापारमा सम्पत्तितर्फ २३.५१ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १९.०३ प्रतिशत, विविधतर्फ १०.२७ प्रतिशत, सामुद्रिकतर्फ ६.१० प्रतिशत, हवाईतर्फ ४.५९ प्रतिशत, कृषि तथा बालीतर्फ ३.२९ प्रतिशत र लघुतर्फ २.६९ प्रतिशत रहेको छ।












