काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा जीवन बीमकको तुलनामा निर्जीवन बीमक जनशक्ति बढाउन आक्रामक ढंगले अगाडि बढिरहेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ पहिलो ९ महिना चैतसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार चालु वर्षको चैतसम्म बीमकहरुको कुल जनशक्ति १२ हजार ३९४ पुगेको छ। यो संख्या अघिल्लो वर्ष चैतसम्म १२ हजार ९१ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्मचारी संख्या २.५१ प्रतिशतले बढेको छ।
चालु वर्षको चैतसम्म जीवन बीमकमा ६ हजार ९९ र निर्जीवन बीमकमा ६ हजार २९५ जना कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकमा ६ हजार ५५ जना र निर्जीवन बीमकमा ६ हजार ३६ कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमक र निर्जीवन बीमकमा कर्मचारी संख्या क्रमशः ०.७३ प्रतिशत र ४.२९ प्रतिशतले बढेको छ।
यसैगरी पछिल्लो एक वर्षमा निर्जीवन बीमकका २ वटा शाखा कार्यालय थपिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतमा निर्जीवन बीमकका शाखा कार्यालयहरु १ हजार १५५ रहेकोमा चालु वर्षको त्यही अवधिसम्म बढेर १ हजार १५७ पुगेको हो।
जीवन बीमकका शाखा कार्यालयले भने १ हजार ८४१ रहेको छ। अघिल्लो वर्ष पनि जीवन बीमकका शाखा कार्यालय १ हजार ८४४ थियो। यो हिसाबले जीवन बीमकको शाखा कार्यालय घटेको छ।
चालु वर्षको चैतसम्म जीवन र निर्जीवन बीमकका कुल शाखा कार्यालय संख्या २ हजार ९९८ वटा पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष चैतसम्म कुलशाखा कार्यालय संख्या २ हजार ९९९ वटा रहेको थियो।












