काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयइतबार बिदाका दिन पनि अस्पतालहरुलाई सेवा सुचारु राख्न निर्देशन दिएको छ।
मन्त्रालयले आज एउटा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गरेको छ। तर, स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न अस्पतालहरुलाई मन्त्रालयले आइतबार पनि सेवा सुचारु राख्न निर्देशन दिएको हो।
अस्पतालहरुले आइतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा गराउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ। यो व्यवस्था लागू गर्दा कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले सुझाव दिएको छ।
यसैगरी प्रादेशिक अस्पतालहरुमा समेत यो व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयसँग सूचनामा आग्रह गरिएको छ।












