काठमाडौं । जीवन बीमा कम्पनीहरूले जारी गरेका बीमालेखमध्ये १२ लाखभन्दा बढी बीमालेख निष्कृय अवस्थामा छन्। बीमितले मोहलत अवधि मात्र नभएर नविकरण बीमाशुल्क तिर्नुपर्ने दिनबाट ६ महिना नाघ्दासमेत बीमाको किस्ता रकम जम्मा नगर्दा यति ठूलो संख्यामा बीमालेख निष्कृय देखिएको हो।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क बुलेटिन बीमा प्रतिबिम्बको मंसिर अङ्कमा उल्लेख गरिए अनुसार, १२ लाख २० हजार ४१५ बीमालेख व्यतित अर्थात् पूर्णरूपमा निष्कृय अवस्थामा छन् । यस्तो अवस्था हुनु भनेको बीमितको ज्यानलाइ कुनै अप्रत्याशित घटना भएको अवस्थामा उ वा उसको आश्रित परिवारजन बीमाको लाभबाट वञ्चित हुनु ।
प्राधिकरणका अनुसार, व्यतित बीमालेखको बीमाङ्क रकम ३६ अर्ब ९८ करोड ३७ लाख रूपैयाँ रहेको छ ।
प्राधिकरणका अनुसार, गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा व्यतित बीमालेख संख्या १२ लाख १४ हजार ५ सय थियो। व्यतित बीमालेखको रकम ३५ अर्ब ४१ करोड ९६ लाख रूपैयाँ रहेको थियो ।
प्राधिकरणले जीवन बीमकको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दा व्यतित बीमालेखको प्रतिशत घटाउन निर्देशन दिएपनि नियन्त्रणमा आउन सकेको छैन । गत आव २०८१/८२ को पहिलो पाँच महिनाको तुलनामा व्यतित बीमालेख संख्य ०.४९ प्रतिशतले बढेपनि व्यतित बीमालेख रकम ४.४२ प्रतिशत बढेको छ।
यसैबीच चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्त्तसम्ममा बीमितले ३७ हजार १४९ वटा जीवन बीमालेख असमयमै बन्द(समर्पण) गरेर रकम झिकेका छन् । प्राधिकरणका अनुसार, बीमितले चालू आर्थिक वर्षको पहिलो पाँच महिनाभित्र ५ अर्ब ६९ करोड २१ लाख रूपैयाँ झिकेका छन् ।
किन हुन्छ बीमालेखको असमयमै बध ?
नेपालको जीवन बीमा बजारमा बीमालेख व्यतित वा समर्पणमा पुग्नुको पछाडी केही ठोस कारणहरू छन् ।
पहिलो कारण हो, जीवन बीमाबारे अस्पष्ट बुझाई वा चेतना। बीमाबारे पर्याप्त जानकारीको अभावमा सर्वसाधारणले यसको प्राथमिकता निर्धारण गर्न सक्दैनन् र बीमालेख व्यतित हुने वा समर्पण गर्ने स्थिति आउँछ ।
दोश्रो हो, अभिकर्ताको गलत बजारीकरण र बीमितको क्रय वा बचत क्षमताबीचको तालमेल। बीमितको आर्थिक हैसियतको स्थायीत्व वा आम्दानीको श्रोतको भरपर्दोपनतर्फ विचारै नगरी अभिकर्ताले जीवन बीमा गराइदिंदा बीमितले बीमालेखको किस्ता नियमित भुक्तानी गर्न सक्दैन । र, अन्ततः बीमालेख व्यतित हुँदे समर्पणसम्मको अवस्थामा पुग्छ।
कमजोर बीमालेख सेवाः जीवन बीमकले बीमालेख बिक्री गरी सकेपछि बीमितलाइ बीमाको किस्ता भुक्तानी गर्नुपर्ने मितिबारे नियमित जानकारी नदिंदा बीमालेख व्यतित अवस्थामा पुग्छ। एक पटक व्यतित भइसकेपछि त्यसको ब्याज जरिवाना र दोश्रो पटकको किस्ता समेत थपिंदा बीमितको बचत क्षमताभन्दा बाहिरको अवस्थामा पुग्छ। यसबाहेक बीमालेखको कर्जा लिइ सकेपछि बीमितलाइ सहज माध्यमबाट कर्जाको साँवा वा ब्याज भुक्तानी गर्ने सुविधा दिइएको छैन।
डिजिटल वालेटमार्फत् कर्जा भुक्तानीको सुविधा भएपनि अधिकांश बीमितलाई यसबारे जानकारी हुँदैन । वालेटमार्फत भुक्तानी गर्दा एक पटकमा कम्तीमा न्यूनत्तम ५ हजार रूपैयाँ भुक्तानी गर्नैपर्ने बाध्यात्मक अवस्थाले पनि साँवा घटाउन नसक्दा ब्याज झनै थपिएर बीमितलाई नोक्सानीको अवस्था भइदिन्छ।


















