काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन्।
बस्यालले आज अर्थ मन्त्रालयमा नेप्सेको अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। ‘राजीनामा दिनुको कारणबारे भने बस्यालले सार्वजनिक रुपमा खुलाएका छैनन्’, नेप्सेका एक कर्मचारीले भने, ‘तर, अर्थ मन्त्रालयमा राजीनामा दिएको भन्दै बस्याल सबै कुरा जिम्मा दिएर नेप्सेबाट बाहिरिनुभएको छ।’
बस्याललाई तत्कालीन सरकारले २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए।
त्यसो त शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षबाट सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिइसकेका छन्। बस्याल र श्रेष्ठको राजीनामासँगै शेयर बजार नियामक सेबोन र बजार सञ्चालक नेप्से दुवै नेतृत्वविहीन बनेका छन्।
सेबोन अध्यक्ष नियुक्तिका लागि भने सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ। सरकारले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल छन्।












