काठमाडौं । अवैध रुपमा सञ्चालित सट्टेबाजी एप तथा वेबसाइट प्रयोगमा बालेन शाह नेतृत्वको सरकार कठोर बनेको छ। सरकारले हालसम्म ७ हजार बढी अनलाइन सट्टेबाजी एप तथा वेबसाइट बन्द गराएको छ।
सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले ती सट्टेबाजी एप र वेबसाइट बन्द गरेको हो । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा ती एप र वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घन्टाभित्र बन्द गर्ने उल्लेख छ। सोहीबमोजिम त्यस्ता एप तथा वेबसाइट पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले निर्देशन दिएको छ।
प्राधिकरणले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ। अवैध ढंगले प्रयोग गरेको पाइएमा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।












