काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सुन-चाँदी धितोमा कर्जा प्रवाह उल्लेख्य रुपमा बढाएका छन्। जसले बैंकिङ प्रणालीभित्रको प्रवृत्तिमात्र नभएर समग्र अर्थतन्त्रको अवस्था पनि झल्काउने संकेत दिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुन धितोमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ६९ अर्ब २८ करोड रुपैयाँमात्र रहेको थियो। यसरी हेर्दा एक वर्षमै करिब ३५ अर्ब रुपैयाँभन्दा बढी वृद्धि भएको छ। जुन उल्लेख्य विस्तार हो।
यो वृद्धि किन भइरहेको छ भन्ने बुझ्न बजारको अवस्थालाई हेर्न आवश्यक हुन्छ। पछिल्लो समय आर्थिक गतिविधि अपेक्षाकृत सुस्त छ, व्यवसायको आम्दानी घटेको छ र धेरै क्षेत्रमा नगद अभाव देखिएको छ। यस्तो अवस्थामा सर्वसाधारणदेखि साना व्यवसायीसम्मले तत्काल पैसा जुटाउने सजिलो उपायका रुपमा सुन धितो राखेर ऋण लिन थालेका छन्। घरमा भएको सुन प्रयोग गरेर छिटो कर्जा पाइने भएकाले यो विकल्प लोकप्रिय बन्दै गएको हो।
बैंकहरुका लागि पनि यस्तो कर्जा आकर्षक बन्दै गएको छ। अन्य कर्जाको तुलनामा सुन धितो कर्जा सुरक्षित मानिन्छ। किनकि ऋणीले ऋण तिर्न नसकेमा धितोमा राखिएको सुन बेचेर बैंकले आफ्नो पैसा असुल गर्न सक्छ। त्यसैले जोखिम कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्तो कर्जातर्फ ध्यान बढाएका छन्। बैंकहरुले सुन धितोमा कर्जा दिनका लागि विभिन्न अफरहरु ल्याइरहेका छन्। यसले पनि सुन धितो कर्जातर्फ आकर्षण बढाएको देखिन्छ।
कुल बैंकिङ प्रणालीको अवस्था हेर्दा माघ मसान्तसम्म ७६ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५७ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
यस ठूलो संरचनाभित्र सुन धितो कर्जाको हिस्सा अझै सानो देखिए पनि यसको वृद्धि दर भने तीव्र छ। यसले बैंकहरुको कर्जा प्रवाहको ढाँचामा परिवर्तन हुँदै गएको संकेत गर्छ। जहाँ दीर्घकालीन र उत्पादनमूलक कर्जाभन्दा छोटो अवधि र सुरक्षित कर्जामा झुकाव बढ्दै गएको छ।
सुन धितो कर्जा बढ्नुका सकारात्मक पक्ष पनि छन्। यसले सर्वसाधारणलाई आकस्मिक अवस्थामा छिटो पैसा उपलब्ध गराएको छ। विशेषगरी घर खर्च धान्न, स्वास्थ्य, शिक्षा वा साना व्यवसाय सञ्चालन गर्न यस्तो कर्जा उपयोगी देखिएको छ। बैंकिङ पहुँच नभएका वा अन्य कर्जा लिन गाह्रो हुनेहरुका लागि पनि यो सहज विकल्प बनेको छ।
तर, यससँगै केही जोखिम र चिन्ताका विषय पनि जोडिएका छन्। यदि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो भने धितोको मूल्य पनि घट्न सक्छ। जसले बैंकहरुको कर्जा सुरक्षामा असर पार्न सक्छ।
त्यस्तै बैंकहरु अत्यधिक रुपमा यस्ता सुरक्षित कर्जातर्फ केन्द्रित हुँदा उद्योग, उत्पादन र ठूला परियोजनामा जाने कर्जा घट्न सक्छ। जसले दीर्घकालीन आर्थिक वृद्धिमा असर पार्ने सम्भावना रहन्छ।
सुन–चाँदी धितो कर्जाको तीव्र वृद्धि एकातिर सर्वसाधारण र साना व्यवसायका लागि राहातको माध्यम बनेको छ भने अर्कोतर्फ अर्थतन्त्रमा देखिएको सुस्तता, नगद अभाव र बैंकहरुको जोखिमबाट बच्ने प्रवृत्तिलाई स्पष्ट रुपमा देखाउने संकेतका रुपमा देखिएको छ।












