IME Life New

सुनको मूल्य उकालो लाग्दै जाँदा सुन धितो कर्जा लिने पनि बढ्दै, ६ महिनामै १९ प्रतिशत वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले सुन धितोमा प्रवाह गरेको कर्जा उल्लेख्य रुपमा बढ्दै उच्च तहमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा सुन धितो कर्जा १९.१ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थि वर्ष २०८१।८२ को असारसम्म सुन धितोमा ८४ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। सो रकम पुससम्म आइपुग्दा १ खर्ब ९९ करोड रुपैयाँ पुगेको छ। छोटो अवधिमै झन्डै १६ अर्ब रुपैयाँबराबरको कर्जा थपिँदा सुन धितो कर्जा बैंकिङ प्रणालीमा तीव्र गतिमा विस्तार भएको देखिन्छ।

Esewa
Crest

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आर्थिक वर्षमा सुन धितो कर्जाको वृद्धिदर अझ उच्च देखिएको छ। २०८१ असारमा ६० अर्ब ७८ करोड रुपैयाँ रहेको सुन धितो कर्जा २०८१ पुससम्ममा ६९ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो। उक्त अवधिमा कर्जा विस्तार १४.२ प्रतिशतमा सीमित थियो। यसले चालु आवमा सुन धितो कर्जाप्रति आकर्षण उल्लेख्य रुपमा बढेको संकेत गर्छ।

सुन धितो कर्जा बढ्नुको प्रमुख कारण सुनको मूल्यमा आएको अस्वाभाविक वृद्धि हो। गत आर्थिक वर्षको तुलनामा चालु आवको पुससम्म सुनको मूल्य प्रतितोला १ लाख २२ हजार २०० रुपैयाँले बढेको छ। २०८१ पुस २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ थियो। २०८२ पुस अन्त्यसम्म आइपुग्दा सो मूल्य बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

छोटो समयमै सुनको मूल्य दोब्बर नजिक पुग्दा सर्वसाधारण तथा व्यवसायीहश्रले आफूसँग भएको सुनलाई निष्क्रिय सम्पत्तिका रुपमा नराखी धितोमा राखेर वित्तीय आवश्यकता पूरा गर्ने प्रवृत्ति बढेको देखिन्छ। मूल्य बढेसँगै एउटै परिमाणको सुनबाट पहिलेभन्दा धेरै कर्जा लिन सकिने अवस्थाले पनि सुन धितो कर्जा विस्तारलाई प्रोत्साहन गरेको छ।

सुन धितो कर्जा हाल बैंकहरुका लागि तुलनात्मक रुपमा सुरक्षित कर्जा मानिन्छ। नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछन्। साथै, धितो राखिएको सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था छ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहँदा कर्जा विस्तारका लागि नयाँ क्षेत्र खोजिरहेका बैंकहरु सुन धितो कर्जातर्फ आकर्षित हुन थालेका छन्। सुनचाँदी धितो कर्जामा क्यापिटल चार्ज नलाग्ने व्यवस्थाले पनि बैंकहरुलाई यस्तो कर्जा विस्तार गर्न सहज बनाएको छ।

यसै क्रममा केही बैंकहरुले विशेष ‘गोल्ड लोन’ योजना समेत सार्वजनिक गरेका छन्। यस्ता योजनाले सस्तो ब्याजदरमा सहज रुपमा कर्जा उपलब्ध गराउने लक्ष्य लिएका छन्

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ। विश्व बजारमा देखिएको अनिश्चितता, मुद्रास्फीति र सुरक्षित लगानीतर्फको झुकावले सुनको मूल्यलाई उच्च बनाइरहेको छ। पछिल्लो समय केही दिन मूल्यमा उतारचढाव देखिए पनि समग्र प्रवृत्ति भने उकालो नै छ।

यही कारण, आगामी दिनमा पनि सुनको मूल्य उच्च रहिरहेमा सुन धितो कर्जाको माग थप बढ्ने सम्भावना देखिन्छ। मूल्य वृद्धि र बैंकिङ प्रणालीको तरलताले सुन धितो कर्जालाई आगामी महिनाहरुमा पनि कर्जा विस्तारको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS