काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आउँदो असोज १६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस शेयर वितरणपछि सोही हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसका लागि नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले बैंकका सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पारित गर्नेछ। सभाले बैंकको उक्त आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।












