काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्दा प्राप्त बीमाशुल्क खातामा रियल टाइम(वास्तविक समय)मै जम्मा गर्नुपर्ने प्रावधान हटाइएको छ।
प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशनमा दोस्रो संशोधन गर्दै यस्तो प्रावधान हटाएको हो। संशोधित व्यवस्था अनुसार अब सदस्य बीमकले बीमाशुल्क प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी निर्देशनमा संशोधन गर्दै वैदेशिक रोजगार बीमालेखको दैनिक विवरण कोष प्रबन्धक समक्ष पेश गर्नुपर्ने प्रावधान हटाएको छ। संशोधित व्यवस्था अनुसार अब सदस्य बीमकले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण (बीमालेख संख्या र बीमाशुल्क, भुक्तानी तथा भुक्तानी हुन बाँकी दाबी रकम र संख्या) प्रत्येक महिनाको १ देखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्नेछ।
यसअघि सदस्य बीमकहरुले बीमालेखको विवरण दैनिक रुपमा कोष प्रबन्धक समक्ष पेश गर्नुपर्ने प्रावधान थियो। निर्देशनमा संशोधन गर्दै प्राधिकरणले यो व्यवस्था हटाएको छ।
त्यस्तै प्राधिकरणले यसअघिको बीमकले आफूले भुक्तानी गरेको दाबीवापतको रकम विवरण प्रत्येक महिनाको ७ गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने प्रावधानमा पनि संशोधन गरेको छ। संशोधित व्यवस्था अनुसार अब सदस्य बीमकले आफूले भुक्तानी गरेको दाबीवापतको रकम प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ।
प्राधिकरणले वैदेशिक रोजगार बीमा पुलको कोष प्रबन्धकको जिम्मेवारी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ।