IME Life New

जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अर्थको आग्रह, स्रोत नखुलेको नगद भेटिए कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न आग्रह गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनकोक्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगदसमेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

नेपाल सरकारले सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको सूचनामा उल्लेख छ। ‘विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता छैन’, सूचनामा भनिएको छ, ‘अतः आफ्नो जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न सबैमा हार्दिक अनुरोध छ।’

चलित कानुनबमोजिम आयआर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा–व्यवधान नरहेको मन्त्रालय स्पष्ट पारेको छ। ‘तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ’, सूचनामा भनिएको छ।

कुनै व्यक्तिले नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्था देहायबमोजिम रहेका छन्ः

  • कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने। तर, करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा सोहीबमोजिम हुने।
  • नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५हजारबराबरसम्म) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको।
  • नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको।

उल्लिखित कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँकतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS