काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार २८ गते आइतबार र २९ गते सोमबार देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्ति अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
यस्तो अवस्थामा अचानक बाढी, पहिरो, कटान, गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको उच्च जोखिम हुने भएकाले प्राधिकरणले विशेष सावधानी अपनाउन निम्न अनुसारको अनुरोध गरेको छ:
अकस्मात बाढी आउन सक्ने खोला, खहरे तथा नदीको बाटो हुँदै यात्रा नगर्न र पहिरोको जोखिम भएका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दाहरूले बढी सतर्कता अपनाउन।
तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना), स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकायहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन।
जोखिमयुक्त राजमार्ग र सडकहरूमा अवरोध हटाउनका लागि डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न।
पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको निरन्तर सम्पर्कमा रहन।
वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न १२३८, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक पर्नासाथ फोन गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे निरन्तर जानकारी लिइरहन समेत सर्वसाधारणमा अपील गरेको छ।












