कामाडौं । युरोपमा उखर्माउलो गर्मीको लहर चलिरहेको छ। फ्रान्समा अवस्था यति बिग्रिएको छ कि सरकारले एक दिनको लागि मदिरा सेवनमा प्रतिबन्ध लगाएको छ। जर्मनीमा पनि गर्मीको चेतावनी जारी गरिएको छ र स्पेनमा फुटबल प्रशंसकहरुका लागि तोकिएका स्थलहरु बन्द गर्न बाध्य पारिएको छ।
युरोपका ठूला भागहरुमा यी दिनहरुमा तीव्र गर्मीको लहर चलिरहेको छ। तापक्रम रेकर्ड स्तरमा बढिरहेको छ। यो गर्मीको प्रभाव यति गम्भीर छ कि धेरै देशहरुले विभिन्न उपायहरु अपनाउन बाध्य भएका छन्।
फ्रान्स विशेषगरी नराम्रोसँग प्रभावित भएको छ। फ्रान्सका ९६ क्षेत्रहरुमध्ये ३५ क्षेत्रहरुमा रातो गर्मीको चेतावनी जारी गरिएको थियो। दक्षिणपश्चिमदेखि पेरिस र बरगन्डीसम्मका यी क्षेत्रहरुमा तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको थियो। केही ठाउँहरुमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पनि पुग्न सक्छ।
यो गर्मीको लहरलाई ध्यानमा राख्दै फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आपतकालीन बैठक बोलाए। बैठकमा उनले आइतबार हुने ‘फेटे डे ला’ म्युजिक महोत्सव र अन्य सार्वजनिक कार्यक्रमहरुमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरे। यो प्रतिबन्ध ती ३५ क्षेत्रमा लगाइएको छ। जहाँ रेड अलर्ट जारी गरिएको थियो। यद्यपि, पेरिसमा प्रशासनले आश्रय प्रदान गर्न पार्कहरुलाई २४ घनटा खुला राख्न आदेश दियो।
जर्मनीको अवस्था पनि फरक थिएन। धेरैजसो क्षेत्रहरुमा गर्मीको चेतावनी जारी गरिएको थियो। तापक्रम लगभग ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको थियो। जर्मन मौसम सेवाले चेतावनी दिएको थियो कि गर्मी र आद्र्रता मिलेर गम्भीर आँधीबेहरी निम्त्याउन सक्छ। गर्मीले इटालीमा पनि जीवन कठिन बनायो, तापक्रम ३६ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
गर्मीले दैनिक जीवन र पर्यटन दुवैलाई असर गर्यो। रोममा मानिसहरु चर्को घाममा कोलोसियम बाहिर लाइनमा उभिए। जसले गर्दा हिँड्नु सहनशीलताको परीक्षा बन्यो। कोही–कोही गर्मीबाट बच्न क्लाउडियसको मन्दिर मुनिको चिसो आश्रयहरुमा फर्किएका छन्। –एजेन्सी












