काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी र ब्रिज कोर्सका कक्षाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ साल वैशाख १ गतेदेखि लागू हुने गरी यस्ता सबै प्रकारका तयारी कक्षाहरू बन्द गर्न कडा निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार यस्ता कक्षाहरूले विद्यार्थीमा पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यस्ता तयारी कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा प्रतिकूल असर पारेको पाइएको छ।
अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थपिएको मन्त्रालयको ठहर छ। शिक्षामा समतामूलक पहुँच पुर्याउन यस्ता अतिरिक्त कक्षाहरूले बाधा पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रीस्तरबाट २०८२/१२/१३ गते भएको निर्णयअनुसार यो निर्देशन जारी गरिएको हो। मन्त्रालयले सम्बन्धित सबैलाई यो निर्णय पालना गराउन निर्देशन दिएको छ। साथै, मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता कक्षाहरू सञ्चालन भए/नभएको अनुगमन गर्न समेत अनुरोध गरेको छ।
“यदि कसैले निर्देशन विपरीत यस्ता कक्षाहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइनेछ,” मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।












