आदरणीय पाठक तथा उद्योगका सहयात्रीहरु !
पत्रकारिताको यात्रामा ८ वर्ष आफैँमा एउटा रोचक मोड रहेछ। कहिले लाग्छ यो त भर्खरै सुरु भएको छ, कति धेरै कथाहरु सुन्न सुनाउन र लेख्न बाँकी छन्। कति प्रश्नहरु अझै अनुत्तरित छन्। फेरि पछाडि फर्केर हेर्दा लाग्छ कि हामीले ८ वसन्त पार गरिसक्यौँ ! समयसँगै उद्योग फेरियो, पाठकका अपेक्षाहरु फेरिए र ती परिवर्तनहरुसँगै हामी पनि परिपक्व भयौँ।
आज insurancekhabar.com आठौँ वार्षिकोत्सवको संघारमा उभिरहँदा म सम्पादकीय टेबुलमा बसेर विगतका ती चुनौतीपूर्ण तर अर्थपूर्ण दिनहरु सम्झिरहेको छु। जब हामीले यात्रा सुरु गरेका थियौँ तब नेपालमा बीमाका समाचारहरु आर्थिक पत्रपत्रिकाका कुनै कुनामा एउटा सानो सूचनाका रुपमा मात्र भेटिन्थे। नयाँ नीति आउँथे, कम्पनी खुल्थे तर तीभित्रको गहिराइ र सर्वसाधारणको चासोलाई कसैले केलाउँदैनथ्यो। हामीले यो रिक्तता भर्ने अठोट गर्यौं।
हाम्रो उद्देश्य ‘ब्रेकिङ न्युज’को होडबाजीमा लाग्नुभन्दा पनि तथ्य र विश्लेषणसहितको भरपर्दो सूचना दिनु थियो। हामीले सनसनी फैलाउन होइन स्थिरता र विश्वास कमाउन यो बाटो रोजेका हौँ।
विगत ८ वर्षमा हामीले नियमनकारी निकायका कडा नीतिदेखि डिजिटल बीमाको सुरुआतसम्मका हरेक उतारचढावलाई नजिकबाट नियाल्यौँ। बीमाको पहुँच गाउँसम्म पुग्दै गर्दाको खुसी होस् वा दाबी भुक्तानीमा ढिलाइ हुँदाको पीडा, हामीले सधैँ दुवै पक्षलाई उत्तिकै प्राथमिकता दियौँ। हाम्रा लागि पत्रकारिता केवल सफलताको गीत गाउनुमात्र नभएर बरु ऐना देखाउनु पनि हो। जहाँ कमजोरी छन्, त्यहाँ प्रश्न उठाउनु हाम्रो पत्रकारिताको धर्म हो। किनकि जबाफदेहिता बिनाको सूचना पत्रकारिता नभएर केवल विज्ञापनमात्र हुन्छ।
हामी सधैँ एउटा कठिन सन्तुलन मिलाउन प्रयासरत रह्यौँ। उद्योगको व्यावसायिक मर्यादा पनि कायम राख्ने र पाठक (बीमित) को हकहितका लागि पनि अडिग रहने। यो सन्तुलन मिलाउन कहिलेकाहीँ चुनौतीपूर्ण हुन्छ तर यही नै हाम्रो मार्गदर्शक सिद्धान्त हो।
हामी नेपालको बीमा उद्योगको सम्भावनामा दृढ विश्वास राख्छौँ। प्राकृतिक प्रकोपको जोखिम र बढ्दो आर्थिक सचेतना भएको हाम्रो जस्तो देशमा एउटा बलियो बीमा प्रणाली अपरिहार्य छ। सही सूचना र खुला बहसले नै यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सक्छ भन्ने हाम्रो मान्यता छ।
नवौँ वर्षमा प्रवेश गर्दै गर्दा हाम्रो प्रतिबद्धता फेरि पनि उही छः ‘बिना भय र बिना पक्षपात’ समाचार सम्प्रेषण गर्ने। नीति निर्मातादेखि साधारण बीमितसम्मका आवाजलाई एउटै मञ्च प्रदान गर्ने।
हाम्रा सामग्री पढेर हामीलाई झकझक्याएर र हामीमाथि भरोसा गरेर तपाइँले जुन गुण लगाउनुभएको छ, त्यसका लागि हामी ऋणी छौँ। तपाइँकै रचनात्मक आलोचना र साथले हामीलाई आज यहाँसम्म पुर्याएको हो।
आगामी दिनमा अझ परिष्कृत र अझ मानवीय भएर तपाइँमाझ आउने वाचा गर्दछौँ।
हृदयदेखि नै आभार !
सम्पादक












