काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ का लागि आफ्नो अनिवार्य वित्तीय खुलासामा गत वर्ष क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायहरुबाट १ अर्ब डलरभन्दा बढी कमाएको बताएका छन्।
यो ९२७ पृष्ठको वित्तीय घोषणामा ट्रम्पले ‘ट्रम्प मेम क्वाइन’ बाट रोयल्टीमा ६३.५ करोड डलर प्राप्त गरेको बताएका छन्। यो सिक्का उनले राष्ट्रपति पद सम्हाल्नुभन्दा केही दिन अघिमात्र जारी गरिएको थियो। तर, त्यसपछि यसको मूल्यमा तीव्र गिरावट आएको छ।
ट्रम्पले वर्ल्ड लिबर्टी फाइनान्सियल नामक क्रिप्टोकरेन्सी कम्पनीबाट ५० करोड डलरभन्दा बढी कमाएको पनि बताए। यो कम्पनी उनका छोराहरु र उनका विशेष दूत स्टिव विटकफका छोराछोरीहरुले स्थापना गरेका थिए।
ट्रम्पले घरजग्गा र ट्रम्प–ब्रान्डेड व्यापारिक सामानको बिक्रीबाट पनि लाखौं डलर कमाएका छन्। यद्यपि, ह्वाइट हाउसले ट्रम्पले व्यक्तिगत लाभका लागि राष्ट्रपति पद प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ।
ट्रम्पको पछिल्लो वित्तीय घोषणामा देखाइएको आम्दानी गत वर्षको तुलनामा उल्लेखनीय रुपमा बढी छ। उनको २०२४ को वित्तीय घोषणामा ट्रम्पले ६० करोड डलरभन्दा बढीको आम्दानी उल्लेख गरेका छन्। तर, ह्वाइट हाउसले स्वार्थको कुनै द्वन्द्व नभएको दोहोर्यायो।
ह्वाइट हाउसले बारम्बार भनेको छ कि ट्रम्पले आफ्नो व्यावसायिक हितलाई ट्रस्टमा राखेका छन्। जुन उनको छोराले व्यवस्थापन गर्छ। –एजेन्सी












