काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ।
न्यायाधीश मोना सिंहको इजलासले मंगलबार गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हो। सर्वोच्च अदालतकै आदेशअनुसार धरौटी लिइसकेको र अनुसन्धान गर्नुपर्ने भएमा जमानीमै राखी अनुसन्धान गर्नू भनेर जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिन अस्वीकार गरेको हो।
यसअघि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्नू भन्ने परमादेश दिएको थियो। सर्वोच्चको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग ५ लाख रुपैयाँ धरौटीसमेत लिइसकेको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार गोल्छामाथि सम्पत्ति शुद्धीकरण मामिलामा अनुसन्धान भइरहेको छ।
सीआईबी अहिले फेरि बीमा सम्बन्धी ऐन, २०७९ को अनुसन्धान गर्न भन्दै गोल्छालाई पक्राउ गरेको थियो। तर, यस सम्बन्धमा सर्वोच्चले जिकिर नउठेको भनिसकेको छ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। उनले केही समयपहिले मात्रै हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।












