काठमाडौं । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो कार्ययोजना तयार गरेको हो। मनसुनको ४ महिनाको अवधिमा प्राकृतिक विपदका घटनाबाट क्षति र नोक्सानी हुने गरेको छ। जेठ महिनाको अन्त्यतिरबाट मनसुन नेपाल भित्रिने गर्दछ।
सोही विपदको सामना गर्न, चपेटामा परेकाहरुको तत्कार उद्धार गर्न र आवश्यक समन्वयका लागि यो कार्ययोजना तयार गरिएको हो।
यस्ता छन् कार्ययोजनाका उद्देश्य
विगतका विपदका घटना र प्रभावका तथ्यांकहरुको विश्लेषण गरी मनसुनजन्य विपदको सम्भावित जोखिम पूर्वानुमान गर्नु।
विपद व्यवस्थापनसँग सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्यका लागि कार्यजिम्मेवारी निर्धारण गर्नु।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाई क्षति न्यूनीकरण गर्नु।
कार्ययोजनामा उल्लेख भएअनुसार २०७३ देखि २०८२ सालसम्म प्राकृतिक विपदका २ हजार ३५८ वटा घटना भएका छन्। ती घटनामा ६७८ जनाको मृत्यु भएको छ भने २६९ जना बेपत्ता र २१५ जना घाइते भएका छन्। ती घटनाबाट २३ हजार ८०५ परिवार प्रभावित भएका थिए। २ हजार २४८ वटा घरमा क्षति पुगेको थियो। २ हजार ३७८ चौपाया क्षति भएको थियो।
देशभर यो वर्षको मनसुनमा विपद प्रतिकार्यमा सुरक्षा निकायबाट कुल २६ हजार २१९ जना परिचालित हुने कार्ययोजनामा उल्लेख छ। जसअनुसार नेपाली सेनाबाट ७ हजार ५२४ जना, नेपाल प्रहरीबाट १० हजार ५८५ जना र सशस्त्र प्रहरीबाट ८ हजार ११० जना (१३४ जना गोताखोरसहित) छन्।
यसैगरी देशैभर तालिमप्राप्त १ हजार ४०४ जना स्वयंसेवक परिचालन हुनेछन्। नेपाल रेडक्रस सोसाइटीले पनि १२ हजार ६७४ जना स्वयंसेवक परिचालन गर्नेछ।
कति छ विपद कोषमा ?
केन्द्र, प्रदेश तथा जिल्ला तहमा गरेर विपद व्यवस्थापन कोषमा कुल ७ अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रुपैयाँ र ८४ हजार ७९७ अमेरिकी डलर मौज्दात रहेको छ।












