काठमाडौं । सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार सबै मन्त्रालय, आयोग तथा सचिवाल, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सबै स्थानीय तहका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरुको प्रवर्द्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा गर्न गराउन परित्रपमा निर्देशन दिइएको छ।
निर्देशनहरु
- सार्वजनिक निकायबाट सार्वजनिक खरिदलगायतका सूचनाहरु सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवं सोअन्तर्गतका निकाय तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायले आफ्ना सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारणको व्यवस्था गर्ने।
- उल्लिखित प्रक्रियाबाट प्रकाशन तथा प्रसारण भएका कार्यका लागि भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने गरी गर्ने।
- यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रुपमा स्वीकृत गरेको हुनुपर्ने।












